महिला न्यायाधीशहरुले धानेको अदालत : न्याय सम्पादनमा न्यायाधीशको लिङ्ग हुदैन

मकवानपुर । जिल्ला अदालत मकवानपुर अरु भन्दा फरक छ मतलब यहाँ कार्यरत चारै जना न्यायाधीश महिला हुनुहुन्छ । अदालत हुने गरेका फैसलाहरुमा चारै जना न्यायाधीशहरूको एउटै आवाज सुनिन्छन् ‘न्यायाधीशको लिङ्ग हुँदैन’ ।

विरलै मात्र देखिने मध्ये यहाँको महिला नेतृत्वले नेपाली समाजलाई नयाँ स्वाद दिएको छ त्यो मात्र नभएर न्याय सम्पादनमा विश्वास समेत गरेको छ । जिल्ला अदालत मकवानपुरमा महिला न्यायाधीश मात्र हैन श्रेष्तेदारमा पनि महिला रोशी भण्डारी छन् । बबिता बस्नेत तहसिलदारको रूपमा कार्यरत छन् । घरधन्दा, मेलापात र चुल्हो चौकामा घोटिने महिलाहरूको हात आजभोलि ऐन कानुन निर्माण, अदालती इजलास, बिरामी शल्यक्रिया, प्रधानाध्यापक, प्रहरी प्रमुख लगायतका भूमिकामा देखिन्छन् ।

हरेक नेतृत्वमा पुरुषको उपस्थिति हुने तर यहाँ भने नेपाली समाजले चाहेको भन्दा फरक छ । यहाँ महिला नेतृत्वलाई सहजै अपनत्व र विश्वास गरिएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईले न्याय क्षेत्रलाई कर्मथलो बनाएको झन्डै चौध वर्ष भयो ।

महिला न्यायाधीश भएर १० वर्ष काम गरिसकेका भट्टराई यसअघि काभ्रे, ललितपुर, चितवन, पोखरामा कार्यरत भईसकिन् । काठमाडौँ स्थायी ठेगाना भएका भट्टराईलाई न्याय क्षेत्रमा काम गर्ने रस त्यति बेला पस्यो, जुन बेला उनले हिन्दी सिनेमाकी अभिनेत्री हेमा मालिनीको सिनेमाले उनलाई हौसला दियो । ‘त्यति बेला नेपाली सिनेमा कमै हुन्थे । हामी हिन्दी चलचित्र खुब हेथ्र्यौ । मेरो कलिलो दिमागमा उहाँको रोल मोडलको प्रभाव परेछ उनले भनिन् ।

यता जिल्ला अदालत मकवानपुरका अर्की न्यायाधीश गीता श्रेष्ठले पनि न्याय क्षेत्रमा काम सुरु गरेको झन्डै १० वर्ष पुग्यो । भक्तपुरमा जन्मिएका श्रेष्ठ विवाहपछि काभ्रे जिल्लामा बस्दै आए । यसअघि चितवन, काठमाडौँ र धादिङ हुँदै हाल मकवानपुर जिल्लामा न्यायाधीश भएर जिम्मेवारी सम्हाले ।

मोरङका शकुन्तला कार्की १६ वर्षदेखि निरन्तर न्यायको क्षेत्रमा कार्यरत छिन् । कार्की विगत पाँच वर्षदेखि न्यायाधीश भएर काम गर्दैछिन् ।

त्यस्तै २०५३ सालदेखि न्यायको क्षेत्रमा कार्यरत पूर्णिमा कोइरालाले कैयौँ अदालत र कानुन मन्त्रालयमा पनि काम गरिसकेका छिन् । विगत चार वर्ष देखि उनी न्यायाधीश भएर हाल मकवानपुर जिल्ला अदालतमा छिन् ।

जिल्ला अदालत मकवानपुरमा अघिल्ला वर्षहरू भन्दा यस वर्षको कार्य सम्पादन अझै चुस्त देखिएको छ । न्यायका कुरामा आफूहरू विभेद नरहेको उनीहरू बताउछन् । ‘ हामी महिला भएकै कारण महिलाका संवेदनालाई झट्टै बुझिहाल्ने कुरा त स्वाभाविक छ । तर न्याय दिलाउने कुरामा हामी सत्य तथ्यलाई हेर्ने गर्छौ ।’

पुरुषसँग हातमा हात, काँधमा काँध मिलाएर काम गर्न पाउँदा प्रतिस्पर्धाको नभई आफ्नो क्षमता जाँच्ने अवसर पाएको उनीहरुको बताउँछन् । यस वर्ष जिल्ला अदालत मकवानपुरले लक्ष्यभन्दा राम्रो कार्य सम्पादन गरेको तथ्याङ्कले देखाएको छ । ‘काम गर्ने सिलसिलामा अन्य जिल्लामा सरुवा भइएन भने एउटा लगनशीलताका साम काम अघि बढ्छ । हामी यो वर्ष चार जनानै एक ठाउँमा भयौँ । त्यसैले यो वर्षको रिजल्ट राम्रो आएको छ ।’ न्यायाधीश भट्टराईले भनिन् ।

जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्ष १ हजार ५९७ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका २ हजार ५५३ गरी कुल ४ हजार १ सय १० मुद्दा रहेका थिए । ती मध्ये चालु आर्थिक वर्षको असार ३० सम्म अदालतले ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ भने लक्ष्यको आधारमा १ सय ४ दशमलव ७९ प्रतिशत फर्स्यौट गरेको छ ।

अदालतले लक्ष्यभन्दा बढी फर्स्यौट गरेको मुद्दाको सङ्ख्या १ सय २९ रहेको छ । अदालतका अनुसार १ हजार २८२ मुद्दा फर्स्यौट हुन बाँकी रहेका छन् भने ती मध्ये १८ महिनादेखि २ वर्षसम्मका १९ वटा र २ वर्ष नाघेका २ वटा मुद्दा रहेका छन् ।

जिल्ला अदालत मकवानपुरमा कुल ६० जना कर्मचारी कार्यरत छन् । यहाँ ४ न्यायाधीशसहित महिलाको सङ्ख्या २६ रहेको छ भने पुरुष कर्मचारीको सङ्ख्या ३४ रहेको छ । गोरखापत्रबाट ।