एसआरएचआर समन्वय बैठक

कैलाली । यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (एसआरएचआर)को समन्वय बैठक धनगढीमा सम्पन्न भएको छ ।

विकासका लागि युवा ऐक्यबद्धता (यार्ड)को आयोजनामा सञ्जालहरुसंग समन्वय बैठक सम्पन्न भएको हो । यार्डका कार्यक्रम अधिकृत आरती लोहारले बैठकको उदेश्यबारे सजीकरण गरेका थिइन् ।

बैठकमा समुदायमा बृहत् यौनिकता शिक्षालाई प्रवद्र्धन गर्न नागरिक समाज संस्थाहरूको भूमिका र चुनौतीबारे छलफल भएको थियो । साथै सरोकारवालाहरूसँग सहकार्य गर्न कस्तो अवसर र सम्भावना छन् भन्नेबारेमा पनि छलफल भएको थियो ।

बैठकमा स्थानीय संस्कृति र स्रोतबारे नागरिक समाज र संघसंस्थाले गर्न सक्ने सहयोगबारेपनि अन्तरक्रिया भएको थियो ।

बृहत् यौन शिक्षा (सीएसई) र र एसआरएचआरको महत्व र त्यसले ल्याउने सकारात्मक प्रभावहरूबारे यार्डका कार्यक्रम अधिकृत लोहारले जानकारी दिएका थिईन् ।

उनले सहभागी सीएसओहरूले हालको काम, उपलब्धि र चुनौतीबारे मूल्याङ्कन गर्दै सेवा प्रवाह र समन्वय प्रणालीमा सुधारका अवसरहरू पहिचान गर्न आवश्यक रहेको बताईन् ।
उनले विभिन्न सञ्जालहरुसंग समन्वय र सहकार्य गरि नियमित सञ्चार, स्रोत साझेदारी र संयुक्त अभियान सञ्चालन गर्ने अगामी योजना रहेको बताईन् ।

उनले संस्कृतिसँगै जोडेर तीज, तिहार, होली जस्ता पर्वका बेला गीतहरूमार्फत् जनचेतना फैलाउन सकिन्छ बताईन ।
बैठकमा यौन शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धीका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।