गुरही चोकमा गुरहीको मुर्ति स्थापना
कैलाली । विगत लामो समयदेखि धनगढीमा गुरही चोकमा मुर्ति स्थापना गर्ने परिकल्पना आज (शनिबार) सफल भएको छ । सुदूरपश्चिम प्रदेश र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा गुरही चोकमा गुरही मुर्ति स्थापना भएको हो ।
तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ गुरही पर्व मनाउने गर्दछन् ।
मुर्ति स्थापना कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाको विशेष उपस्थिति रहेको थियो । थारु समुदायले विगत १७ वर्षदेखि नै सो ठाउँमा सामुहिक गुरही अस्रराउने गर्छन ।
सखी सञ्जालको नेतृत्वमा थारु कल्याणकारीणि सभा, थारु विद्यार्थी समाज, थारु कलाकार मञ्च, फोनिज, थारु पत्रकार लगायत थारुसंग सम्बन्धित संघसंस्थाकोको पहलमा २०७३ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको हातबाट सो चोकलाई गुरही चोक नामाकरण गरिएको सखी सञ्जालका अध्यक्ष उन्नती चौधरीले जानकारी दिईन् ।
उनका अनुसार चोकको नामाकरण पश्चात गुरही पर्वको दिन स्थानीय विदा हुनुपर्ने, चोकमा गुरहीको मुर्ति स्थापना गर्नुपर्ने भनेर आयोजक समितिले हरेक वर्ष सरकारलाई ज्ञापन पत्र बुझाउदै ध्यानकर्षण समेत गर्दै आएको थियो । स्थानीय सरकारले विगत तीन वर्षदेखि गुरही पर्वको दिन स्थानीय विदा दिदै आईरहेको छ ।













