धनगढीको बजेट २ अर्ब ५६ करोड, ‘आमा बचाउ’ कार्यक्रम विशेष प्राथमितामा

कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट नगर सभामा प्रस्तुत गरेको छ । उक्त बजेट चालु आव ०८१र८२ भन्दा ३७ करोड ६२ लाख ३३ हजार ७८० बढी हो । उपमहानगरपालिकाले ‘आमा बचाउ’ कार्यक्रमलाई विशेष प्राथमिकता दिने जानएको छ ।

‘आमा बचाउ’ कार्यक्रम सञ्चालनबाट तीन वर्षको अवधिमा १ हजार ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा तथा ४ हजार ५६८ जना सुत्केरी आमालाई घरमै स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा प्रदान गरिएको तथ्यांक सार्वजनिक गरे ।

आगामी आवमा पनि ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, सीप तथा रोजगार मेला, महिला उद्यम बजार र रात्रीकालीन बजार सञ्चालन गर्ने नगरको गौरवका योजना रहेको बताइएको छ । साथै ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर विकास कार्यक्रम’, ‘सफा धनगढी अभियान’, ‘हरियाली प्रवर्धन कार्यक्रम’ र रात्रिकालीन बजार प्रवर्धनका लागि ‘उज्यालो धनगढी कार्यक्रमलाई’ गौरवका योजनाका रुपमा निरन्तरता दिइने नगर प्रमुख गोपाल हमालले बताए ।

आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट चालु आर्थिक वर्षको जेठसम्म १ लाख ३३ हजार ८७५ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको उपमहानगरले जनाएको छ । हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत उपमहानगरले नगर क्षेत्रभित्र हालसम्म १६ हजार ५६ बिरुवा रोपेर हुर्काइरहेको उल्लेख गरेको छ ।

यस्तै, हाम्रो धनगढी सफा धनगढी अभियानअन्तर्गत फोहरमैला व्यवस्थामा सामुदायिक सहभागितालाई निरन्तरता दिइने भएको छ । हालसम्म उक्त अभियानमा १ लाख ९८ हजार ८०२ जना संलग्न भइसकेको उपमहानगरले जनाएको छ । साथै, संकलित फोहरको पुनः प्रशोधन गर्ने गरिएको छ । उपमहानगरले अपांगता भएका व्यक्तिहरुलाई खोजीखोजी निःशुल्क अपांगता सहायता सामग्री वितरण गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने जनाएको छ ।

सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीले आगामी आवका लागि प्रस्तावित कुल बजेटमा चालुतर्फ १ अर्ब ३८ करोड २६ लाख र पुँजीगततर्फ १ अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ हुने अनुमान गरेको छ । कुल बजेटका स्रोतमध्ये ५४ करोड ७९ लाख ६७ हजार १ सय ११ रुपैयाँ आन्तरिक आयबाट, ५० करोड ६० लाख ६२ हजार राजस्व बाँडफाँटबाट, ९९ करोड ९ लाख नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट, ११ करोड २२ लाख ४१ हजार प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट र चालु आर्थिक वर्षको मौज्दातबाट ३३ करोड ३२ लाख ९५ हजार ७ सय ४६ हुने अनुमान गरेको छ ।

शनिबार आयोजित नगरसभामा धनगढीद्वारा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताहरुमा ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियान सञ्चालन गर्दै ‘समृद्धिको सहर धनगढी उपमहानगर’ बनाउने दीर्घकालीन सोचलाई निरन्तरता दिने भनिएको छ ।