विबाह खर्च सहाराविहीनलाई : सामान्य तर सन्देशमूलक

कैलाली । कैलालीको एक जोडीले आफ्नो विबाहमा लाग्ने खर्च अनुमानगरि सहाराविहीनलाई सहयोग गरिका छन् । धनगढीमै बसेर लामो समयदेखि सामाजिक अभियन्ताकोरुपमा काम गर्दै आईरहेका घनपती ढुङ्गेल र उनकी धर्मपत्नी धनादेवी ढुङ्गेलले छोरीको विबाहमा लाग्ने खर्च कतौतीगरि त्यसबाट बचत भएको रकम सहाराविहीनहरुलाई सहयोग गरेर उदाहरण नै प्रस्तुत गरेका छन्।

यहि जेठ २६ गतेका दिन काठमाडौँस्थित अदालतमा आफ्नो छोरीको विवाह सम्पन्न गरे । ढुङ्गेल दम्पतीले विवाहमा हुने तडकभडक र अनावश्यक खर्च कटौती गर्दै ६ लाख रुपैयाँ विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग स्वरूप प्रदान गरेको बताए ।

ढुङ्गेल दम्पतीले उक्त रकम तीन वटा संस्थालाई बराबरी रूपमा बाँडेर सहयोग गरेका हुन् । उनीहरु ६८ जना सडक महिलाहरूलाई आश्रय दिइँदै आएको दृष्टि फाउन्डेसन पुगेर एक छाक खाना खुवाउँदै २ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।

त्यसैगरी, उस्तै सङ्ख्यामा सडक मानवलाई आश्रय दिइरहेको मानव सेवा आश्रम र १ सयभन्दा बढी सहाराविहीन व्यक्तिहरू बसोबास गर्दै आएका सहारा घरमा पनि एकर एक छाक खाना खुवाएर २र २ लाख रुपैयाँ प्रदान गरिएको हो।

‘विवाह एउटा प्रक्रिया मात्र हो। परम्पराको नाममा लाखौँ रुपैयाँ खर्च गर्नुको सट्टा, पीडित र असहाय व्यक्तिहरूको लागि केही गर्नु नै सार्थक र फलदायी हुन्छ। मेरो सानो सहयोगले उहाँहरूलाई ठुलो साथ मिलेको महसुस भएको छ’ सहयोग हस्तान्तरण पछि ढुङ्गेले भने ।

ढुङ्गेलले सहारा घरमा डिप फ्रिजको आवश्यकता रहेको जानकारी पाएको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। ‘गर्मीमा मागेर ल्याएको खाना र अन्य सामग्री बिग्रने समस्या छ। त्यो समस्या समाधान गर्न म प्रयास गर्नेछु,’ उनले भने ।

सहारा घरका सञ्चालक बलबहादुर विष्टले ठुलो साथ मिलेको बताए ।, ‘हालसम्म हामीले जम्मा गरेको २२ लाख रुपैयाँको अक्षयकोषमा यो २ लाख थपिनुले हामीलाई निकै ठुलो साथ मिलेको छ’ ढुङ्गेल परिवारको सहयोगप्रति आभार प्रकट गर्दै उनले भनेका थिए । तीन वटै संस्थाले उक्त रकम अक्षयकोषमा राख्ने र सहाराविहीनहरुको लागि प्रयोग गर्ने बताएका थिए ।

सामान्य तर सन्देशमूलक विवाह

ढुङ्गेल परिवारले छोरीको विवाहलाई पूर्ण रूपमा सादा तर सन्देशमूलक ढङ्गले सम्पन्न गरेका छन्। विवाहपछि छोरी र ज्वाँईलाई आफन्त भेट्नका लागि पनि सामान्य पोशाकमै पठाइएको थियो। ‘विवाहलाई तडकभडकले होइन, समझदारी र विवेकले गर्नुपर्छ। यो सोच मेरी छोरीको पनि थियो, त्यसैले हामीले यो निर्णय लिएका हौँ,’ ढुङ्गेलले भने।

समाजमा विवाहको नाममा लाखौँ रुपैयाँ खर्च गरेर ऋणमा पर्ने प्रवृत्ति बढ्दो छ । वर्तमान सन्दर्भमा ढुङ्गेल परिवारको यो कदम समाज रूपान्तरणको सशक्त सन्देश बनेर आएको छ। सामान्य तर अर्थपूर्ण कार्यमार्फत जनमानसमा चेतना ल्याउने प्रयासस्वरूप गरिएको ढुङ्गेल परिवारको सहयोग प्रशंसायोग्य मात्र होइन, अनुकरणीय पनि छ।