पत्रकार जहिले प्रतिपक्ष हुन्छ : अध्यक्ष शर्मा
कैलाली । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार जहिलेपनि प्रतिपक्ष नै हुने गरेको बताए । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पत्रकार जहिले पनि प्रतिपक्ष हुन्छ । सरकारलाई खबरदारी गर्ने, जबाफदेही बनाउन प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका हुन्छ । अध्यक्ष शर्माले भनिन् । साथै आमनागरिकलाई सु–सूचित गर्ने काममा पत्रकारको भूमिका महत्त्वपूर्ण भएकाले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन जरुरी रहेको बताईन् ।
पछिल्लो पटक पत्रकारिता पेसामा विभिन्न चुनौती देखापरेको उल्लेख गर्दै पत्रकार स्वयंले आफ्नो सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक रहेको बताईन । उनले प्रदेशस्तरमा गठन भएको फ्रि मिडिया नेटवर्कले आमनागरिकको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता प्रदान गर्न मद्दत मिल्ने बताए।
उनले नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी निकायका प्रतिनिधि लगायतको सहभागिता रहने भएकाले पत्रकारलाई सुरक्षासँगै सूचनाको पहुँच बढाउन सहयोग पुग्ने भनाइ व्यक्त गरे।
यसैबिच आजै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहको नेतृत्वमा १७ सदस्यीय फ्रि मिडिया नेटवर्क गठन गरिएको छ। उक्त नेटवर्कमा नागरिक समाज, सरकारी निकाय र पत्रकार सम्बद्ध विभिन्न सङ्गठनका प्रतिनिधिहरू छन्।













