बालिकामाथि हुने यौन हिंसा बढ्दो, असुरक्षित बन्दै सार्वजनिक स्थल
कैलाली । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको तथ्यांक अनुसार बालिकामाथि हुने यौन हिंसा बढ्दो क्रममा रहेको छ ।
संस्थाले विभिन्न सामुदायिक संस्था, महिला समूह, सञ्जाल, युवा तथा किशोरी समूहसँगको समन्वयमा महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेखन गरी विश्लेषणात्मक प्रतिवेदन प्रकाशन गर्दै आएको प्रदेश संयोजक सपना थापा बताउँछिन् ।

उनले जनवरीदेखि मार्च २०२५ सम्म ओरेक नेपालमा ३४ वटा घटना दर्ता भएको बताईन् । जस जसमा यौन हिंसाको मात्रै १३ वटा घटना रहेको थियो ।
यो अवधिमा ३ वटा सामुहिक बलात्कार २ वटा बलात्कारको प्रयास, १ वटा बलात्कार र ७ वटा बैवाहिक बलात्करका घटना रहेको थापाले जानकारी दिईन् । उनले घटना हुने स्थल विद्यालय जस्ता सार्वजनिक स्थानमा पनि बालिकाहरू सुरक्षित नरहेको बताउँछिन् ।
सार्वजनिक स्थलहरूमा हुने यौन हिंसालाई व्यक्तिगत घटनाको रुपमा मात्र नलिई, संरचनागत समस्याको रुपमा लिएर सम्बोधन गर्नुका साथै राज्य, समुदाय, विद्यालयहरू, र न्यायिक संयन्त्रहरू सबै मिलेर सुरक्षित, उत्तरदायी र बालिकामैत्री वातावरण निर्माणमा प्रतिबद्ध हुन जरुरी रहेको संस्थाको निचोड छ ।













