बेहडाबाबामा गङ्गादशहरा मेला शुरु

कैलाली । धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा देउठन्वा (थारु समुदायको देवता राख्ने स्थान वा मन्दिर)मा भव्य गङ्गादशहरा मेला शुरु भएको छ।

धार्मिक आस्थाको केन्द्र मानिने यस देउठन्वामा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा मेलाको आयोजना गरिएको हो । देउठन्वा व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार राति १२ बजे जल चढाएर पूजाअर्चना शुरु गर्ने परम्परा छ।

बेहडाबाबा सुदूरपश्चिमको मात्र नभई देशकै धरोहरका रूपमा परिचित छ। यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको किंवदन्ती छ। यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ, विशेषगरी पुत्रलाभ र सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको भक्तजनहरूको विश्वास छ।

कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानबाट पूजाआजा र दर्शनका लागि बेहडाबाबा आउने गर्दछन्। गङ्गादशहरामा छिमेकी मुलुक भारतका लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गङ्गादशहरालाई महत्त्वपूर्ण चाड मानिएकोले उपमहानगरपालिकाले बिहीबार (जेठ २२ गते) सार्वजनिक बिदा दिएको बताए। उनले भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको पनि जानकारी दिए।