यौनिक अल्पसङ्ख्यक समुदायमाथि विभेदपूर्ण व्यवहार
कैलाली । यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि अहिलेपनि विभेदपूर्ण व्यवहार भईरहेको बताइएको छ । उनीहरु परिवार र समाजिक संरचनाले असमान व्यवहार गर्दै आईरहेको बताए ।
यौनिक अल्पङ्ख्यक समुदायको सवालमा मिडियाको भूमिका सम्बन्धि छलफल कार्यक्रम उनीहरुले यस्तो कुरा जानकारी दिए । यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा पैरवी गर्दैआएको एकता नेपालले यौनिक अल्पसंख्यक समुदायका व्यक्तिले संविधानप्रदत्त अधिकार उपभोग गर्न पनि थुप्रै समस्या झेल्नु परेको भन्दै आफ्नो सवाल उठाइ दिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।
एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायले थुप्रै चुनौती भोगिरहेको बताए । उनले यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले कानुनी मान्यता र अधिकार, नागरिकता र लैंगिक पहिचान, सामाजिक भेदभाव, स्वास्थ्य सेवामा पहुँच र शिक्षा र रोजगारी, ज्यालामा धेरै समस्या र चुनौती झेल्नु परेको बताए । साथै उनले उक्त समुदायका व्यक्तिले पैतृक सम्पत्तिबाट पनि बञ्चित भइरहेको बताए ।
त्यस्तै, चर्पी प्रयोगमा पनि विभिन्न समस्या उत्पन्न भइरहेकाले शौंचालयहरुमा महिला, पुरुष शौचालय लेख्नुभन्दा पनि लैङ्गिकमैत्री शौंचालय लेख्नु पर्ने सो समुदायको जोड छ । आफैलाई बुझ्न नसक्नू र समाजको व्यवहारका कारण यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिमा मानसिक समस्या बढ्दो रहेको जनाइएको छ ।
नेपालको संविधानको धारा १२ मा यौनिक अल्पङ्ख्यक समुदायको नागरिकता र धारा १८ मा समानताको हकको व्यवस्था गरिएको छ । तर, नागरिकता बनाउन जाँदा शरीर नङ्ग्याउनेजस्तो व्यवहार हुने गरेको चौधरीले गुनासो गरे ।
एकता नेपालका अध्यक्ष कृत्तिका चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिलाई स्थानीय र प्रदेश सरकारले लक्षित वर्गको कार्यक्रममा समेट्न आवश्यक रहेको बताइन् ।













