बगरमा सपना देखेका मुक्त कमैया परिवार, लाखौ रुपैयासम्म कमाइ

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया परिवार बगर खेतिमा देखेको सपना सकार भईरहेको छ । बगर खेति गर्दै आएका दुतराज राना बिहानै बनहरा नदी किनारको बगरमा पुग्छन् र तरकारी टिपेर सडकमा बेच्न निस्कन्छन् ।

उनले बगरमा तरबुज, काँक्रा, करेला र लौका रोपेका छन् । उनी तरकारी आफै उत्पादन गर्छन् र बिक्रीपनि आफै गर्छन् । बगर छेउमै उनले टहरा बनाएका छन् र त्यहि टहरामुनि बसेर आफ्नो उत्पादन बिक्री गर्छन् ।

रानाले भने, ‘दिनभरिमा तीन÷चार क्वीण्टलसम्म बिक्री हुन्छ, बिहानदेखि साँझसम्म बिक्री गर्छु ।’ उनले पुस अन्तिमतिर बगरमा लहरे तरकारी रोपेका हुन् । चैत अन्तिमदेखि बिक्री गर्न थालेका बताउँछन् । उनी जेठ अन्तिमसम्म बगरमै व्यस्त हुने बताउँछन् । सो अवधिमा सबै खर्च कटाएर दुईदेखि तीन लाख सम्मको अम्दानी हुने बताउँछन् ।

बगरमा तरकारी उत्पादन गर्न धेरै मिहिनेत र लगानी लाग्ने गरेको रानाको अनुभव छ । चिसोमा बिरुवा उमार्नै गाह्रो, उम्रिएको विरुवालाई हुर्काउन गाह्रो हुन्छ । त्यसैले प्लाष्टिकले ढाक्नुपर्छ । त्यसका लागि खर्च धेरै आउने राना सुनाउँछन् ।

बगरमा तीन विघा तरभुज र अन्य तरकारी लगाएको बाणीकै नन्दलाल रानाले दैनिक ५ क्विण्टल बढी तरकारी बिक्री गर्ने गरेको सुनाउँछन् । बनहरा नदी किनारमा ६० बढी परिवार बगर खेतीमा व्यस्त छन् । बनहरा नदी किनारमा मुक्त कमैया परिवारको बसोबास छ । बगरमा उत्पादन गर्ने अधिकांस तीनै मुक्त कमैया परिवार हुन् ।