मगमगाउने महुवा ब्राण्ड बन्न सकेन

कैलाली । महुवा एक औषधीय गुण भएको रुखको फूल हो । यो चैत्रको दोस्रो सातादेखि बैशाख महिनासम्म निश्चित अवधीमा फूल्ने फूल हो । यो फूल रक्सी बनाउँन एकदमै उत्तम मानिन्छ ।

थारु समुदायमा महुवाको रक्सीलाई विशेषरुपले लिने गरिन्छ । यो फूलबाट बनेको रक्सी मात्र मिलाएर खाए औषधीको रुपमा पनि काम गर्ने थारु अगुवाहरुको तर्क छ । त्यसै थारु समुदायमा महुवाको रक्सीले प्राथमिकता पाएको हो । यो फूललाई जडिबुटिकोरुपमा पनि हेरिने गरिन्छ ।

थारू समुदायमा घरेलु मदिरा (रक्सी) बनाउँनकालागि यतिबेला महुवा संकलनमा धेरै समय खर्चिने गरिएको देखिन्छ । कैलालीका स्थानीयहरु यतिबेला महुवा संकलनकालागि वनमा नै पहरा दिईरहेका हुन्छन् ।
महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ । गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउन महुवा प्रयोग गर्ने गर्दछन् । होमस्टे लगायतमा यसको खपत बढी हुने गर्दछ । यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको नुक्लिपुर होमस्टेका संञ्चालक दिनेश चौधरी बताउँछन् ।

गौरीगङ्गा नगरपालिका–१० नुक्लिपुरका होमस्टे सञ्चालक चौधरी भन्छन्, “महुवा सङ्कलनको काम सुरु भइसकेको छ, होमस्टेमा आउने धेरैजसो पाहुनाले महुवाको सुगन्धित रक्सीको स्वाद लिन खोज्छन् । गाउँघरमा पनि विशेष पाहुनालाई महुवाको रक्सी दिने चलन छ ।”

महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका रुखको फूल हो । बसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ । झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई उपयोग गर्ने गर्दछन् । महुवा सङ्कलनको सिजन सुरु भएपछि वनमा सङ्कलकको चहलपहल बढ्ने गर्दछ । वृद्धवृद्धादेखि लिएर बालबालिकासम्म महुवा सङ्कलन गर्न विहानै वन क्षेत्र पुग्ने गरेका छन् ।

महुवा बहुगुणी वृक्ष रहेकाले यसको बारेमा विस्तृत अध्ययन गरेर आर्थिक लाभ लिन आवश्यक रहेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । उहाँले बसन्ता वनमा महुवाको धेरै रुख रहेको जनाउँदै त्यसको संरक्षणतिर पनि ध्यान दिन आवश्यक रहेको औंल्याउनुभयो । थारु समुदायका मानिसले परापूर्व समयदेखि वनको महुवा सङ्कलन गर्ने र रक्सी बनाउने गरेको श्रेष्ठको भनाइ छ ।

महुवाको रक्सी लुकिछिपि बिक्री

महुवा एकदमै उपयोगी रुख रहेको बताइन्छ । मौरी पालन र जैविक विविधताका लागि पनि महुवा निकै महत्वपूर्ण मानिन्छ । यसलाई जडिबुटीको रुपमा प्रयोग गर्न सकिने बताइन्छ । थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीका अनुसार गाउँघरमा महुवा रक्सी बनाउनका लागि प्रयोग भइरहेको छ । तराईका वनमा सबैतिर महुवा पाइन्छ । गाउँघरमा महुवाको रक्सी बाहेक अरु प्रयोगबारे खासै जानकारी छैन ।

उनले भने ‘अहिले महुवाको रक्सी चर्चामा छ । तर यो रक्सीको ब्राण्ड बनाउन नसक्दा लुकिछिपि बिक्री गर्नुपर्ने बाध्यता छ । सरकारले घरेलु मदिरा बिmक्री गरेको देखेमा बरामद गर्दै आईरहेकोले साना होटेल व्यवसायी निकै मर्कामा परेका छन् ।’

गाउँघरको बजार, मेला महोत्सवमा महुवाको रक्सी एकदमै खपत हुनेगरेको होमस्टे संचालक दिनेश दहित बताउँछन् । महुवाको रक्सी प्रति लिटर रु ४०० सम्म पर्ने हुदा रक्सी खाने ग्राहकहरुलाई थोरै पैसामा धेरै रक्सी आउने र खर्च कम हुने हुँदा महुवाको रक्सी बढी बिक्री हुने गर्दछ । महुवाको वास्ना एकदमै बास्नादार हुन्छ । जसले गर्दा रक्सीपनि मगमगाउन थाल्छ ।

रातको तीन–चार बजेदेखि चल्ने सिरसिरे हावाको साथ लागेर महुवाको फूल झर्छ, झर्नेक्रम बिहान आठरनौ बजेसम्म चल्छ । महुवाको फूल सुकाएर रक्सी बनाउनलाई शुरुमा मर्चा (जाँड बनाउने औषधि) मिसाएर भाँडोमा राख्ने र सात–आठ दिनपछि रक्सी बनाउने गर्दछन् । ।

महुवा र थारु समुदाय बीचमा सम्बन्ध

थारु र महुवा बीचको सम्बन्ध सदियौं पुरानो हो । तर पछिल्लो केही वर्ष यता महुवासंगको सम्बन्ध विस्तारै विलाउदै गईरहेको देखिन्छ । सम्बन्ध छुत्नुको एउटै कारण हो सामुदायिक वन ।
जंगलको छेउछाउमा बस्न रुचाउने थारु समुदाय जंगलमै आस्रित हुन्थे, तर सरकारले वन जति सबै सामुदायिक वन बनाईदियो । अहिले सामुदायिक वनमा गैरथारू र हुनेखाने वर्गको कब्जा छ ।

सामुदायिक वन बनेपछि बढेको जंगल र जंगली जनावरको नाउँमा वन पस्न कडाइ भयो जुन कारण महुवा टिप्नेहरुको संख्यापनि विस्तारै हराउन थाले ।