शहीद परिवारको पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको छ : प्रचण्ड

कैलाली । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् । जागरण अभियानको अवसरमा पार्टी अध्यक्ष प्रचण्डले शहीद परिवारहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् ।

सो अवसरमा शहीद परिवारको तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्षले शहीद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्दै भने, “समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पुर्‍याएर अगाडि बढाउनेछौं।”

उनका अनुसार अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर शहीद तथा बेपत्ता परिवारहरूसँग संवाद भइरहेको छ । उनले भने, “प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन शहीद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो।”

अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टी अझै त्यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा रहेको बताएका छन् । उनले भने, “शहीदहरू राष्ट्रिय शहीद घोषित हुनु सन्तोषको कुरा हो।” सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको जानकारी दिए ।

आयोग बनेपछि राज्यले शहीद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनुका साथै, कम्तीमा एक जना परिवार सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको उनले जानकारी दिए ।