कालो पेटिकोट

हिजो एउटा ठेकेदारको
भुस्याहा कुकुरहरुले
आमाहरुको कालो पेटिकोटलाई
अर्धनग्न देखे
र, झम्टे निर्ममतापूर्वक ।
दुनियाँलाई थाहा छ
उनै नजरहरु हुन्
कैयो डान्स बारहरुमा
ब्रा र पेन्टिको सुगन्ध र सुन्दरतामा लठ्ठिएर
चपक्क टाँसिएर सेल्फी हान्छन्
र, फेसबुकका वालहरुमा सगर्व पोष्ट गर्छन् ।
त्यही नजरहरु हुन्
लाखौं खर्चेर
भाडामा केही थान स्तन
र, केही थान साप्राहरु ल्याउँछन्
अनि खुल्ला मञ्चमा नचाउँदै
बेसूर सिटी फुक्छन्
र, ताली पड्काउँछन् ।
अनि तिनै नजरहरु हुन्
जहाँ सर्वाङ्गै नाङ्गा बाबाहरुको लिंग ढोग्छन्
त्यही देउता ठान्छन्,
साक्षत्कार महादेव देख्छन्
र घोप्टिछन् जमीन भास्सिने गरी ।
तर, अस्मिता रक्षार्थ
सडकमा निस्किएका
कालो पेटिकोटहरुलाई
अर्धनग्न देख्छन्,
विद्रोही देख्छन्
आतंकारी देख्छन्
अनि निर्मम तरिकाले आक्रमण गर्छन्
लाठी बर्साउँछन्
आँश्रुग्याँस हान्छन्
र, बन्दी बनाउँछन् ।