बेलौरीमा एकजना जलिएको अवस्थामा फेला, आफन्तले उठाएनन् शव

कञ्चनपुर । बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै एक जनाको जलेको अवस्थामा शव फेला परेका छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ खैरीघाट कमरीका किसान हरिकिसन राना जलेको अवस्थामा मृत फेला परेका हुन् ।

बेलडाँडी गाँउपालिका ३ का वडाध्यक्ष दुर्गा चौधरीका अनुसार बिहान घरमा गाईभैसीलाई आहारा हालेर मोटरसाईकल चढेर कलकत्ता बजार निस्किएका रानाको मृत्यु शंकास्पद देखिएको छ ।

वडाध्यक्ष चौधरीले भने, ‘सडक छेउमै मोटरसाइकल जलेर पूर्ण नष्ट भएको छ । शव पनि जलेको छ । नजिकै मोबाइल र पैसा पनि फेला परेको छ । मृतकका आफन्तजनले रानाको हत्या भएकाले हत्यारा पत्ता नलागुन्जेलसम्म घटनास्थलबाट शव नउठाउने बताएका छन् ।

बिहान घरमा बस्तुभाउलाई चारा लिएर हिडेको रानाको क्षणभरमै मृत्यु भएपछि घर परिवार विक्षिप्त भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले रानाको मृत्यु शंस्कापद भएकाले बताए । घटनाबारे अनुसन्धान जारी रहेको शर्माले बताए ।

मृतकका आफन्तजन र गाउँलेहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाहीको माग पनि अघि सारेका छन् ।