नेपाली भूमि मिचेर तटबन्ध, स्थानीयबासी आक्रोशित
दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको भारतले नेपालीभूमि मिचेर तटबन्ध निर्माण गरिरहदा स्थानीयबासी आक्रोशित बनेका छन् । भारतले दैनिकरुपमा नेपाली भूमिमा भारतीय डोजर भलाईरहेको छ । तर स्थानीय प्रशासन, जनप्रतिनिधि भने मौन छन् ।
२०७० को बाढीपछि महाकाली नदीले बहाब परिवर्तन गरेर पारी पुगेको नेपाली भूमिमा कब्जा जमाउँदै भारतले तटबन्ध निर्माणको काम गरिरहेको स्थानीयको आरोप छ । २०७० भन्दा पहिले महाकाली नदी वारी रहेको र कानूनी रूपमा अहिले पनि नेपालकै नाम नक्सामा रहेको गल्फैस्थित बसपार्क महाकाली पारीको भूमिमा भारतले बाँध बाँधिरहेको स्थानीय अनिल ठगुन्नाले बताए ।
नेपालको झन्डै ५० रोपनी भूमि नदी पारी छ । सो भूमिमा भारतले स्थानीय नागरिक र प्रशासनको अनुरोधलाई अटेर गरेर तटबन्ध बनाइरहेको छ । विगतमा स्थानीयले अवरोध गर्दा रोकिएको काम अहिले फेरि सुरु भएको कृष्ण धामी बताउँछन् । नापी विभागको टोलीले विगतमा नापजाँच गर्दा सो भूमि नेपालकै रहेको बताएको छ ।
अहिले नदी सीमामा बगेको छैन “२०७० सालको बाढीपछि गल्फैको महाकाली पारी पनि नेपालको भूमि छ । सो भूमिमा विगतमा नेपालको वन, भू संरक्षणलगायत कार्यालय र घर रहेकामा अहिले महाकालीले बहाब परिवर्तन गरेपछि भारतले अतिक्रमण गरिरहेको छ ।”
भारतले नेपालको भूमि छोडेर मात्रै बाँध बाँध्नुपर्ने नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टको भनाइ छ । सार्वभौमसत्ता सम्पन्न नेपालमा भारतले यसरी सीमा मिचेर बाँध बाँधिरहेकोमा आपत्ति जनाउँदै उनले तत्काल काम रोक्न सरकारसँग अनुरोध गरे ।
गृह मन्त्रालयलाई आवश्यक रिपोर्टिङ गरिएको र स्थानीय स्तरमा भारतीय प्रशासनसँग काम रोक्न लिखित र मौखिक रूपमा अनुरोध गरिए पनि सुनुवाई नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
भारतलाई नेपाली प्रशासनमार्फत गरिएको अनुरोधमा बुफ्ने काम भइरहेको भन्दै अल्झाइएको पाइएको छ । काम रोक्नुको सट्टा मेसिन र जनशक्ति बढाएर काम भइरहेको छ, एक जना सुरक्षा अधिकारीले भने, “शनिबार पाँच वटा डोजर प्रयोग गरेर सो क्षेत्रमा काम गरिरहेको पाइएको छ ।” सरकारले कूटनीतिक रूपमा फेरि विवाद नआउने गरी यो विषय समाधान गर्नुपर्ने प्रजिअ पौडेलको भनाइ छ ।
नेपालतर्फ नदी तटीय क्षेत्रमा तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम विगतदेखि गर्दै आएको थियो । केही महिना पहिले भारतीय डोजर महाकाली तरेर खलङ्गामै आएपछि विवाद चर्किएको थियो । भारतले झन् अहिले गल्फै पारीको नेपाली भूमिमै बलमिच्याइँ गरेर बाँध बाँध्न थालेको छ ।













