गाउँको विकासमा महिला सक्रिय

बाजुरा । बाजुरामा पछिल्लो समय गाउँको विकास निर्माणका काममा महिला सक्रिय हुँदै आएका छन् । यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पलायन भएपछि गाउँको विकास निर्माणमा महिला मात्रै खटिन बाध्य भएका हुन् ।

अहिले यहाँका महिलाले गाउँको बाटो, सडक, खानेपानी र विद्यालयलगायतका भौतिक पूर्वाधार विकास निर्माणका काम गर्ने गरेको त्रिवेणी नगरपालिका–४ का स्थानीय जलुदेवी साउदले बताउछिन् ।

उनले भने, “दक्ष ज्यामीका लागि केही पुरुष खोज्ने गरेको भए पनि अरू अदक्ष ज्यामीले गर्ने सबै काम अहिले गाउँकै महिलाले गर्ने गरेका छौँ ।”

पहिला गाउँमा आउने गरेका यस्ता योजनाको पैसा कति आउँथ्यो । त्यो पैसा कसले लिन्थ्यो केही थाहा हुँदैन थियो । अहिले यहाँ आउने गरेका सबै योजनाको हिसाबकिताब महिलालाई समेत थाहा हुने गरेको छ । जसका कारण महिलालाई अहिले आफ्नै कामले हातमा दाम पर्ने गरेको साउदले बताए । पछिल्लो समय यहाँका कतिपय गाउँबस्ती पुरुषविहीन भएका कारण गाउँमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको काम पुरुषभन्दा महिलाले गर्ने गरेका छन् ।

गाउँमा रहेको खानेपानी, बाटो मर्मत र विद्यालय भवन निर्माणलगायतका कामले पछिल्लो समय महिलालाई धेरै सहज बनाएको छ । यसरी गाउँमै काम पाउँदा महिला पनि खुसी हुने गरेका छन् । योभन्दा पहिला गाउँमा आउने गरेका काममा महिलालाई सहभागी गराइँदैनथ्यो भने अहिले यहाँका सबै महिला गाउँमा आउने गरेका सानाठुला योजनाका सबै काममा सहभागी हुने गरेका छन् । पुरुषसरह नै समान ज्याला पाउने गरेका छन् ।

बाजुराका नौ वटै पालिकाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । युवाका लागि गाउँमा गरेर खाने केही काम नभएकाले उनीहरू बर्सेनि भारतमा जाने गरेका हुन् । अहिले हामीले स्थानीय, प्रदेश, सङ्घीय सरकारदेखि गाउँका सबै योजनाका काममा पहिलो प्राथमिकता एकल महिला त्यसपछि अन्य महिलालाई नै दिने गरेको त्रिवेणी नगरपालिका–४ का वडाध्यक्ष गणेश साउदले बताउँछन् ।