कार्यान्वयन हुन नसक्ने योजना बनाउँदा विकास रोकिएको हो : उपाध्यक्ष अधिकारी

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले कार्यान्वयन गर्नै नसकिने योजना बनाउदा विकासको काम रोकिएको बताए ।

नेपाल मूल्याङ्कन समाज र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयुक्त आयोजनामा शनिबारदेखि सुरुभएको आदिबासी जनजाति पत्रकारका लागि मूल्याङ्कनसम्बन्धि तालिमको उदघाटनसत्रमा यस्तो कुरा बताए ।

सरकारले योजना आयोगमार्फत धेरै आयोजना बनाउँछ, तर कार्यान्वयन गर्न नसक्दा ठोस विकास हुन नसकेको अनुभव उपाध्यक्ष अधिकारीले सुनाए । उनले भने, “हाम्रो कार्यशैली फरक छ, धेरै आयोजना बनाउने तर त्यसको कार्यान्वयन नगर्ने । हामीले कम आयोजना बनाएर त्यसको कार्यान्वयन गर्नेगरी आयोजना डिजाइन गर्न सक्नुपर्छ । त्यसो गर्न सक्यौं भने विकास देखिन्छ ।”

विकासका लागि ऋण लिनु गलत नभएको तर त्यसको उत्पादन क्षेत्रमा लगानी गर्न नसक्नु कमजोरी भएको चर्चा गरे । “जन्मेदेखि ऋणको भारी बोक्यो भन्नेजस्तो गलत भास्य निर्माण गरिएको देखिन्छ, त्यो राम्रो होइन । विकासका लागि ऋण लिनु राम्रो हो, तर त्यो पैसा उत्पादनमा सदूपयोग गर्न सक्नुपर्छ । रकम दूरुपयोग गर्नु हुँदैन ।”

मिडियाको भूमिका विकास निर्माण र एजेण्डा सेटमा महत्वपूर्ण रहने हुनाले सकारात्मक सन्देश प्रवाह गरेमा विकासमा टेवा पुग्ने उनको सुझाव छ । हरेक चिज नकारात्मक रुपले समाचार प्रस्तुत गर्दा जनतामा पनि नकारात्मक भास्य खडा हुने हुनाले मिडिया क्षेत्र पनि विकास निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाल मूल्याङ्कन समाजका अध्यक्ष डा. भुवन बज्राचार्यले मूल्याङ्कन मानिसको जीवनमा हरेक कदममा आवश्यक रहेको बताए । काम गर्दा हामी मूल्याङ्कन गरेर मात्र गर्ने गर्छौं, जति राम्रो मूल्याङ्कन गरी योजना बनाउँछौं, त्यति राम्रो परिणाम आउँछ उनले भने । विकास निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण रहने भएकाले आदिबासी जनजाति पत्रकारसँग सहकार्यका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले मिडियाको लक्ष्य मुलुकमा सुशासन कायम गरी विकास निर्माणमा योगदान दिने भएकाले पहिले मिडियाकर्मीलाई सशिक्तकरण गर्न आवश्यक रहेको बताए । सबैविच एकता र सहकार्य हुन सकेमात्र विकास निर्माणमा हातेमालो सम्भव भएको भन्दै उहाँले मिडियाको तर्फबाट फोनिज विकास अभियानमा सहकार्य गरिरहेको र आगामि दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शनिबार र आइतबार दुई दिनसम्म चल्ने तालिम प्रशिक्षण कार्यक्रममा देशभरबाट २५ जना आदिबासी जनजाति पत्रकारको सहभागिता रहेको छ । फोनिज सचिवालयका पदाधिकारी, फोनिजका प्रदेश अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको छ । कार्यक्रममा डा. गंगादत्त अवस्थी, डा. विजयकुमार सिंह, प्रकाश पन्थ, रमेश पौड्याल, गजुरधन राईको प्रस्तुति रहनेछ ।