एक नेपाली हमासको कब्जामै रहेको इजरायली मिडियाको भनाइ
एक जना नेपाली नागरिक हमासको कब्जामै रहेको इजरायली मिडियाले लेखेका छन्।
गत वर्ष हमासले इजरायलमा आक्रमण गर्दा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको थियो। समाचारमा भने हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी हुन वा होइनन् भन्ने खुलाएको छैन।
इजरायल सरकारले हमासले बन्धक बनाएका व्यक्तिहरूका बारेमा जानकारी सार्वजनिक गरेको हो। त्यसका आधारमा टाइम्स अफ इजरायलले हमासको कब्जामा रहेका व्यक्तिमध्ये एक जना नेपाली पनि भएको उल्लेख गरेको छ।
अहिले हमासको नियन्त्रणमा १० जना विदेशी नागरिक छन्। उनीहरूमध्ये आठ जना थाई नागरिक, एक जना नेपाली र एक जना तान्जिनियाली नागरिक रहेको समाचारमा उल्लेख छ।
उनीहरूमध्ये दुई जना थाई नागरिकको भने मृत्यु भइसकेको इजरायल सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले लेखेको छ। त्यस्तै, तान्जिनियाली नागरिकको पनि मृत्यु भइसकेको इजरायल सरकारले घोषणा गरिसकेको छ।
हमासले आज आठ जनालाई मुक्त गर्दै छ। जसमा तीन जना इजरायली नागरिक र पाँच जना थाई नागरिक रहेका छन्।
समाचारमा रिहा हुन लागेका तीन जना इजरायलीको नाम उल्लेख गरिए पनि पाँच जना थाई नागरिकको नाम खुलाइएको छैन। छुट्ने क्रममा रहेका तीन जना इजरायलीमा २० वर्षीय अगाम बर्गर, २९ वर्षीय आरबेल योहुद र ८० वर्षीय मेसो मोजेज छन्।
तीन जना इजरायलीको नाम हमासले इजिप्ट र कतारमा रहेका मध्यस्थकर्तामार्फत इजरायल सरकारलाई उपलब्ध गराएको समाचारमा जनाइएको छ। अन्तर्राष्ट्रिय रेडक्रसले भने बन्दी छुटाउने प्रक्रियाबारे अनभिज्ञता प्रकट गरेको छ।
यहि माघ ६ गते गाजामा युद्ध विराम सम्झौता भएको थियो। सम्झौताअनुसार, हमासको कब्जामा रहेका बन्धक र इजरायलले नियन्त्रणमा लिएका फलस्तीनी नागरिकलाई रिहा गरिँदै आएको छ। हालसम्म हमासले सात जना बन्धकलाई मुक्त गरेको छ। हमाससले एक जनालाई मुक्त गर्दा इजरायलले ३० जना फलस्तीनीलाई छोड्ने सहमति बनेको छ।
१६ महीनाअघि दक्षिणी इजरायलबाट अपहरणमा परेका २५१ जनामध्ये ३१ जना थाई नागरिक रहेका थिए। उनीहरूमध्ये आठ जना थाई नागरिक अझै नियन्त्रणमा रहेको समाचारमा जनाइएको छ। उनीहरू सुरसाक लामनाउ, पिङ्गा नाटापोङ, वनावात सिथावो, साटहान सुवानकाम, स्रिआउन वातचारा र पोङसाक तन्ना छन्। सुन्धिसाक रिनथालक र सोन्थाया ओक्कारासको भने मृत्यु भइसकेको इजरायल सरकारले जनाएको छ।
इजरायली युद्धका क्रममा सबैभन्दा बढी प्रभावित हुने विदेशीमा थाई नागरिक छन्। ब्यांककले जनाए अनुसार हालसम्म इजरायमा ३२ थाई नागरिकले ज्यान गुमाइसकेका छन् भने हमासले नियन्त्रणमा लिएका २३ जना थाई नागरिक मुक्त भइसकेका छन्।
हमासले इजरायलमा आक्रमण गर्दा दक्षिणपूर्वी एशियाका दशौं हजार कामदार इजरायमा काम गर्दै थिए, जसमा अधिकांश गाजा क्षेत्रको सिमा नजिकैको इजरायली कृषि फारममा सहयोगीका रुपमा कार्यरत थिए।
गत वर्ष हमासले अपहरण गरेका २५१ मध्ये ८७ जना अझैसम्म गाजामा रहेको जनाइएको छ। जसमा ३४ जनाको मृत्यु भइसकेको र शव पनि भेटिएका आईडीएफले जनाएको छ। अन्य ४० जनाको शव युद्धका क्रममा भेटिएको समाचारमा उल्लेख छ।
हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। उनीहरूसँग रहेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।













