सभापतिको टुङ्गो नलाग्दा संसदीय समितिको निर्वाचन स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको भागबन्डामा परेको विशेषाधिकार समितिको सभापतिकालागि उम्मेदवार टुङ्गो नलाग्दा संसदीय समितिको निर्वाचन स्थगित भएको छ ।

प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि माघ १८ गते तय गरेको निर्वाचन प्रक्रियालाई स्थगित भएको हो । प्रदेश सभाको सचिबालयले १३ माघमा जारी सूचना अनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो भने १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको थियो ।

प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको सभापति पद रिक्त छन् ।

प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिमा मंगलवार कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले एक साता पछि धकेल्ने गरी समितिको निर्वाचनको कार्यसूची जारी गर्न सभामुख भीम भण्डारीलाई आग्रह गरेकाका छन् ।

‘पूर्व निर्धारित मिति भन्दा केही पछि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गर्छु’ धामीले बैठकमा भने ‘मुख्यमन्त्री ज्यूले पनि आवश्यक तयारीको लागि भन्दै केही समय पछिको सूचना जारी गर्न आग्रह गर्नु भएको छ ।’

सुदूरपश्चिममा ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । भागबन्डा अनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एउटा÷एउटा समितिको सभापति लिनेछन् ।

उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।

दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत गरेका थिए । अहिले सत्तारुढ नेपाली कांग्रेसको जोडबलमा सभापति चयनका लागि तोकिएको निर्वाचन स्थगित गरिएको छ । कांग्रेसले केही तयारी गर्नुपर्ने भन्दै सभामुखलाई निर्वाचन प्रक्रिया सार्न माग गरेको थियो । कांग्रेसमा सभापति कसलाई पठाउने भन्ने विषयमा सहमती हुन सकेको छैन ।