पाठेघरको क्यान्सरले नेपालमा दैनिक चारको मृत्यु

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको छ ।

नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको उनले बताए ।

ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

खोप अभियानअन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार नौ सय ९९ छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र, सात सय ८१ जना स्वास्थ्यकर्मी र एक हजार पाँच सय १५ जना स्वयंसेविका परिचालन हुनेछन् । सात सय ५५ खोप केन्द्रमध्ये पाँच सय ५७ विद्यालय एक सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्यूएचओ०ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो ।

गत आर्थिक वर्ष २०८०र०८१ मा सातवटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा देखिएको छ । विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।