थारू समुदायमा भुरा खेल शुरु, गाउँगाउँमा भलमन्सा चुनिदै

कैलाली । माघ लहानपछि थारु गाउँमा भुरा खेल शुरु हुनेगर्दछ । अहिले थारू गाउँमा वरघर भलमन्सा चुनिने क्रम जारी छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदायमा गाउँको अगुवाइ गर्ने व्यक्ति (जसलाई भलमन्सा भनिन्छ) को छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको हो ।

वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले धार्मिककार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको पनि छनौट गरिन्छ ।

थारू समाजमा वडघरियालाई उच्च सम्मानका साथ हेरिन्छ । समुदायले चुनेको वरघरियाले सिङ्गो थारू गाउँको नेतृत्व गरेको हुन्छ । वरघरियाले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला, संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन् ।

जनप्रतिनिधिले वरघरियाको सल्लाहमै गाउँको विकासका लागि योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्दै आएका छन् । जनसहभागिता जुटाउन र गाउँले भेला गर्न वरघरियालाई गुहार्नुपर्ने पुरानै चलन हो ।