गर्भवती महिलालाई अस्पताल पुर्‍याउने आमाहरू

प्युठान । शुक्रवार नौबहिनी गाउँपालिका–८ फोप्लीकी एक गर्भवती महिलालाई आमाहरुले स्वास्थ्य संस्था पुर्याए । नौ बहिनी गाउँपालिका–८ कुर्झेनीकी गर्भवती महिलालाई स्टेचरमा बोकेर कुमारी पुनमगरको नेतृत्वमा उद्धार समूहले स्वास्थ्य संस्था पुर्‍याएको हो ।

करिब डेढ घण्टा हिँडेर स्वास्थ्य संस्था पुर्‍याएपछि गर्भवती महिलाको सुरक्षित रूपमा स्वास्थ्य संस्थामा प्रसूति भएको छ । स्वास्थ्य चौकीले गर्भवती महिलाको द्वार तथा सहयोगका लागि टोल टोलमा आमा समूह गठन गरेको छ । वडाका ४५ टोलमा समूह गठन भएको स्वास्थ्य संस्था प्रमुख प्रकाश घिमिरेले बताए ।

“गाउँमा पुरुषहरूको उपस्थिति एकदमै कम छ,” उनले भने, “त्यसैले गर्भवती महिलाको उद्धार र सहयोगका लागि उद्धार समूह बनाएका हौं ।” ती समूहलाई स्ट्रेचर समेत प्रदान गरिएको छ । ३० ठाउँमा स्ट्रेचर उपलब्ध गराएको स्वास्थ्य चौकी प्रमुख घिमिरेले बताए । धेरै ठाउँमा यातायातको सुविधा नभएकाले प्रत्येक टोलमा उद्धार गर्नका लागि छ जनाको समूह बनाइएको उनले बताए । समूहको सक्रियता बढ्दै गएको उनको भनाई छ ।

गाउँमा अझै पनि घरमा सुत्केरी हुने अवस्था रहेकाले त्यसलाई नियन्त्रण गर्न यो अभियान थालिएको हो । जसले गर्दा घरमा हुने सुत्केरीको सङ्ख्या समेत कम हुँदै गएको स्वास्थ्य चौकीको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९-०८० मा १३ जना घरमा सुत्केरी भएका थिए । आर्थिक वर्ष २०८०-०८१ मा ४६ जना सबैको स्वास्थ्य संस्थामै सुत्केरी गराइएको छ । यस आर्थिक वर्षमा पनि घरमा हुने सुत्केरी शून्य छ ।