दुई दिन अघि मेरो एक्सिडेन्ट होस् भन्दै टिकटक बनाएका खत्रीको दुर्घनाबाट मृत्यू

कैलाली । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै ६ लेन सडकखण्डमा सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्म खत्रीको मृत्यु भएको छ ।

खत्री सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए । दुर्घना पश्चात गम्भीर अवस्थामा रहेका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुर्याउदा मृत भईसकेको थियो ।

उनी पेशाले स्वास्थ्यकर्मी थिए । खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक भएको प्रहरीको भनाई छ । खत्रीले दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा आफ्नो ठूलो दुर्घटना होस् भन्दै मोटरसाइकलमा सवार भिडियो समेत हालेको पाइएको छ ।

‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिन तब तिमीलाई मेरो मायाको आभास हुुनेछ,’ खत्रीले भिडियो पोष्ट गरेका थिए ।

उक्त मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीया शर्मिला थापा पनि घाइते छन् । मुख र पेटमा चोट लागेकी थापाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित शाहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।