कर्णाली, मोहना र पथरैया नदी घडियाल गोही देखिए

धनगढी । कैलालीका तीन वटा नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् । कर्णाली, मोहना र पथरैया नदी गोही देखा परेको बताइएको छ ।

हिउँदमा पानीको सतह घट्ने गरेकाले वर्षातको सिजन सकिएसँगै गहिराइ खोज्दै घडियाल गोही कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गर्छन् । तर यस वर्ष पथरैयासहित मोहना नदीमा पनि हिउँदमा घडियाल बसिरहेका छन् । पथरैया नदीमा गतवर्ष पनि हिउँदमा घडियालको बसोबास थियो । यसवर्ष सो नदीसहित भजनी नगरपालिकाको हलौना घाटस्थित मोहना नदीमा देखापरिरहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार कर्णाली नदीको श्रीलङ्का टापु क्षेत्रमा पाँच वटा घडियाल गोहीको बसोबास छ । यसवर्ष तीन वटा नदीहरुमा घडियाल बसिरहेकाले यो वर्ष तीनै नदीहरुमा सो प्रजातिको गोहीले अण्डा दिने र बच्चा कोरल्ने सम्भावना रहेको संरक्षणकर्मी ढुङ्गानाले बताए । गतवर्ष कर्णाली र पथरैया नदीमा घडियालले बच्चा कोरलेको थिए । मोहना नदीमा भने घडियालले बच्चा कोरलेको अहिलेसम्म भेटिएको छैन ।