सिंगो बस्ती पुस्तौंदेखि भारतमै आस्रित
बाजुरा । बाजुराको एक सिंगो बस्ती पुस्तौंदेखि भारतको भरमै आस्रित छ । बुढीगङ्गा नगरपालिका–१०, बदेडाको दलित बस्तीका परिवार पुस्तौँदेखि भारतकै भरमा बाँच्नु परेको हो । गाउँमा गरेर खाने केही व्यवस्था नभएपछि यो बस्तीका दलित परिवार पुस्तौँदेखि भारतमै रोजगारी गरिरहेका छन् ।
गाउँमा गरी खाने केही उपाय छैन, अहिले भारतमा रोजगारी गरेर छोराछोरी पाल्ने गरेका छौं, बुढीगङ्गा नगरपालिका–१० का स्थानीय रूपबहादुर सार्की भन्छन् । उनका अनुसार गाउँमा खेती लगाउँ भने पनि केही जमिन त छ तर त्यो जमिनमा सिँचाइको सुविधा छैन । त्यसैले जमिन सधैँ बाँझो हुन्छ ।
पहिला हजुरबुवा र बुवाले पनि यसरी नै भारतमा बसेर हामीलाई हुर्काए । अहिले हामीले पनि भारतमै बसेर गाउँमा छोराछोरी पालेका छौं सार्कीले भने ।
बुढीगङ्गा नगरपालिका–१० को बदेडा बस्तीमा झन्डै ५० भन्दा बढी दलित परिवार छन् । यहाँ यो बस्तीमा चालिस परिवार सार्की, १३ परिवार विक र दुई परिवार नेपाली बसोबास गर्दै आएका छन् ।
अहिले यो बस्तीका झन्डै १५० जना युवा भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका छन् । उनीहरू दसैँतिहारको बेला गाउँ फर्किने र त्यसपछि रोजगारीका लागि फेरि भारतमै जाने गरेको छन् ।













