इन्जिनियरिङ पढेका थापा ब्लक उद्योगमा छलांग मार्दै

कैलाली । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा अहिले कङ्क्रिट ब्लक व्यवसायीमा छलांग मारेका छन् ।

२०६८ सालबाट टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका उनी अहिले व्यवसायीकरुपमा नै स्थापित बनेका छन् । अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने चौतर्फी दबाब आएपनि उनी सफल व्यवसायी भएर आर्थिक उन्नति तर्फ अग्रसर भएको बताउँछन् ।

उनका अनुसार काठमाडौँ पढ्दै गर्दा बुबासँग विवाद भयो । बुवाले रु ५० हजारसम्म कमाउने जागिर खान सुझाव दिए । उनि भन्छन, “त्यो बेला ५० हजारको जागिर खान सकिने स्थिति थिएन । म बुबाले सञ्चालन गरेको तर बन्द अवस्थामा रहेको ब्लक उद्योग सञ्चालन गरेर सफल बन्ने चुनौती दिएर व्यवसायमा लागेँ ।”

हरेस नखाएर काम गरेपछि नतिजा राम्रो आउँछ भन्ने अठोटले थापालाई उद्योगमा सफलता मिलेको हो । उनी बर्सेनि बजार विस्तारसँगै ब्लक उत्पादन बढाउँदै लगेका छन् ।

एक वर्षमा २२ हजारसम्म ब्लक उत्पादन गरेका थियौँ । त्यो समयमा १७ जनाले उद्योगमा रोजगारी पाएका थिए । उनि भन्छन, “सबै खर्च कटाएर मासिक रु एक लाखभन्दा बढी मैले बचत गर्थे”, निरन्तर उकालो लागेको थापाको ब्लक उद्योग कोरोना सङ्क्रमणको समयमा सुस्त भए पनि विस्तारै उद्योगले पुरानै लय समात्न लागेको उनले बताए ।

विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी हुने थापाको विश्वस्त छ । विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गर्नु, र अरुलाई स्वरोजगार बनाउन पाउँदा खुसी भएको बताउँछन् ।

उसो त जागिर खान पनि थापालाई समस्या थिएन । लोकसेवा लेडेर जागिर खानसक्ने क्षमता उनमा छ । उता राजनीतिक कुल घरानामा जन्मिएका थापाको बुबा रतनबहादुर थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भसकेका छन् । आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीको जिम्मेवारीसमेत पूरा गरिसकेका छन ।

थापा भन्छन् “म सानैदेखि आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हुँ । त्यसकारण पनि म बुबाआमासँग नजिक भइनँ । आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिएँ”, थापा भन्छन, “उनिहरूको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो । सबैले आआफ्नो गरेर खाएका छौँ, कसैले कोहीप्रति निर्भर हुनुपरेको छैन, यही खुसीको कुरा हो ।