आज छठ पर्व, जलाशय वरिपरि झिलिमिल
कैलाली । दीपावलीअघि नै जनकपुरका पोखरीमा बाँस ठड्याउन थालिन्छ । तिहारमा घर चिटिक्क र झिलमिल पार्ने जनकपुरिया छठ पर्वका लागि भने पोखरी, तलाउ र जलाशय सजाउन यतिखेर व्यस्त छन् । जलाशयमा ठड्याइएको बाँसमा रंगीचंगी कपडासँगै झिलमिली बत्ती लगाउन थालिएको छ ।
सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । मंगलबारदेखि नै छठपर्वको अनुष्ठान सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन हुनेछ । जनकपुरको गंगा सागरलाई सिँगारिएको छ । जनकपुरको गंगा सागर पोखरीमा ठूलो संख्यामा छठ मनाइन्छ । त्यहाँ घाटलाई सजाउने काम तीव्र पारिएको छ । गंगा सागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार घाटलाई आकर्षक र व्यवस्थित बनाइएको छ । ‘गंगासागर पोखरीको सजावट पूरा भएको छ । हामी व्रतालुको प्रतीक्षामा छौं,’ गुप्ताले भने,‘अरु वर्षभन्दा यसपालि सजावट आकर्षक छ ।’
जनकपुरको दुई दर्जनभन्दा बढी पोखरीमा छठ पर्व मनाइन्छ । जानकी मन्दिरछेउमै रहेको अरगंजा सरलाई पनि सजाउने काम भइरहेको छ । अरगंजा सरको सजावट र व्यवस्थापन जिम्मेवारी सम्हालेको मिथिला समाज सेवा समितिका अध्यक्ष जितेन्द्रकुमार साहले गत वर्षभन्दा अरगंजा सरको सजावट भिन्न र आकर्षक रहेको बताए । ‘छठ पर्व मनाउनेसँग नै चन्दा लिएर घाटलाई व्यवस्थित बनाउने गरिएको छ,’ उनले भने,‘यसवर्ष ५ सय १ रुपैयाँ चन्दा तोकिएको छ । गतवर्ष ३ सय ५० रुपैयाँ थियो ।’ जनकपुरको धनुष सागर, रुकमिणी सर, गोरधोइ पोखरी, बिडाल सर, दूधमति नदीलगायतका क्षेत्रमा भब्य छठ पर्वको आयोजना हुने गरेको छ ।
संस्कृतिका जानकार रमेशरञ्जन झाका अनुसार छठ पर्वमा जलासयको सजावट नै प्रमुख आकर्षण हुने गरेको छ । ‘छठ अरु पर्वभन्दा फरक छ । पानी, पोखरी, सरोवर, नदीसँग यो पर्व जोडिएको छ,’ झाले भने,‘यसले पनि मानिसमा छठपर्वप्रतिको आकर्षण बढाइदिएको छ । छठपर्वको आकर्षण नै सजावट हो । जल क्षेत्रलाई सज्जाउने र पर्यावरणसंग पनि जोडिएकाले छठ पर्व व्यापक भएको हो ।’ यहाँको छठ पर्व हेर्न आउनेको चापले जनकपुरको होटल भरिभराउ छ । जनकपुरको छठ हेर्न आन्तरिक र वाहय पर्यटक पनि आउने गरेको होटल व्यवसायी विजय झुनझुनवालाले बताए ।
‘नेपालको विभिन्न ठाउँबाट छठ पर्व हेर्न जनकपुर आउनेको संख्या बढ्दो छ,’ उनले भने,‘पछिल्लो समय दक्षिण भारत र तेस्रो मुलुकका पर्यटक पनि छठका बेला जनकपुर आउने क्रम बढेको छ ।’ उनका अनुसार छठ हेर्न आउने पर्यटकका चापका कारण जनकपुरका प्रायः सबै होटल भरिभराउ छ । बजारमा भने छठ पर्वको समाग्री किनमेल गर्नेको भिड छ । घठ घाटमा अर्घ्यराख्नका लागि बाँसको छिट्टी, नाङ्लो, सुपालगायतका समाग्री किनमेल बढेको छ ।
श्रद्धा, भक्ति र नियम–निष्ठापूर्वक मनाइने छठ मिथिलाञ्चलको पुरानो पर्व हो । तराई–मधेशमा मात्र सीमित छठ पर्व विस्तारै देशभरि फैलिँदैछ । दुई दिन घरमै र दुई दिन जलाशयमा गरी चार दिनसम्म मनाइने छठ पर्व मंगलबारदेखि सुरु भएको छ । व्रतालुले नहाय–खाय९नुहाएर खाना खाने० गरेर मंगलबार छठ पर्वको उपासना सुरु गरेका थिए । छठ पर्वको दोस्रो दिन बुधबार खरना हो । खरनाका दिन व्रतालुले चामल, सक्खर र दुद्यबाट तयार पारिएको खीर प्रसाद भनेर ग्रहण गर्छन् । तेस्रो दिन बिहीबार साँझ जलासयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालु घर फर्किनेछ भने शुक्रबार एकाबिहानै फेरि जलासयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।
पुत्र, पति र परिवारको कल्याण तथा पृथ्वीमा पर्याप्त प्रकाश छरेको भन्दै सूर्यलाई धन्यवाद दिनु छठ पर्वको महत्व हो । कात्तिक शुक्ल षष्ठी र चैती गरी छठ पर्व वर्षमा दुई पटक मनाइन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको मान्यता छ ।













