पुरानो लुगाबाट झोला बनाउँदै विद्यार्थी
कैलाली । धेरै जसो विद्यार्थी चाडपर्वको विदामा आआफ्ना अभिभावकसँग घुमघाम गर्दै रमाईलो गर्छन् । तर कैलाली स्थित पञ्चोदय माध्यमिक विद्यालयका छात्राहरुले पुरानो लुगाबाट झोला बनाउने सिप सिकेर समयको सदुपयोग गर्दै आई रहेका छन् ।
यो विद्यालयका कक्षा ९ र १० का केही छात्राहरु पुरानो कपडाबाट झोला बनाउन सिकिरहेको छन् । उनीहरु विशेष गरेर पुरानो पाइन्टबाट हाते झोला बनाउने काम गरिरहेको कक्षा १० मा अध्ययनरत छात्रा एलिना चौधरीले बताईन ।
विद्यालयमै झोला बनाउन उनले नै आफ्ना सहपाठीलाई सिकाउने कार्य गरिरहेको बताउँछिन् । “हामीले पुरानो पाइन्टबाट हाते झोला बनाइरहेका छौँ,” चौधरीले भनिन्, “यो हाते झोला तरकारी बोक्न र किनमेलसहित अन्य कामका लागि धेरै उपयोगी हुने गर्छ ।”
एलिनाले आफू अर्को विद्यालय पढ्ने बेला कागजको ब्याग बनाएको अनुभव सुनाउँछिन् । त्यसरी नै पुरानो जिन्स पाइन्ट काटेर हाते झोला बनाउन सिकेको उनले बताईन् । “मैले एउटा पाइन्ट काटेँ तर त्यसबाट के बनाउने भन्ने आइडिया आएको थिएन । तर पछि पाइन्टबाट झोला बनाउनु प¥यो भन्ने सोच आयो । मैले आफ्नो माइजूबाट अलिकति सहयोग लिएर पाइन्टको झोला बनाउन थालेँ ।”
आफूले झोला बनाउन सिकेर आफ्ना साथीहरूलाई सिकाउन पाउँदा धेरै खुशी भएको एलिना बताउँछिन् ।
आगामी दिनमा थप अन्य विद्यार्थीलाई झोला बनाउने सिप सिकाउने योजना रहेको विद्यालयले जनाएको छ । अरू विद्यार्थीलाई प्रशिक्षण दिन सक्ने एउटा कोर समूह तयार पार्ने उद्देश्यका साथ सुरुमा सात/आठ जना विद्यार्थीलाई राखेर झोला बनाउने प्रशिक्षण सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक हरिष ओझाले बताए ।
“धेरै विद्यार्थीलाई राख्नुभन्दा सुरुमा हामीले सात/आठ जनाका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन ग¥यौँ र विद्यालयमै अध्ययनरत छात्रा एलिनाले उनीहरूलाई सिकाइन्,” उनले भने, “आगामी दिनमा इच्छुक विद्यार्थीलाई यस्तो सिप सिकाउने योजना छ ।”
विद्यालयले सञ्चालन गरेको हस्तकला प्रदर्शनीमा एलिनाले पुरानो काम नलाग्ने पाइन्टको झोला बनाएर प्रदर्शनीमा राखेपछि उनको प्रतिभाको पहिचान भएको प्रअ ओझाको भनाइ छ । खेर जाने पुरानो कपडाबाट विद्यार्थीले बनाएको झोला विशेष अवसरमा उपहारका रूपमा पनि दिन सकिने उनले उल्लेख गरे ।
“विद्यार्थीले पाइन्टको झोला बनाएपछि केहीले त्यसलाई किन्न पनि चाहेका थिए,” प्रअ ओझाले भने, “तर आआफ्ना आफन्त वा साथीहरूलाई जन्मदिनमा उपहारका रूपमा दिनु भनेर अहिलेलाई विद्यालयले झोला बनाउने सम्बन्धित विद्यार्थीलाई नै झोला दिएको छ ।”
यो हस्तकलाको सिपबाट विद्यार्थीले आम्दानी गर्न सक्ने विद्यालयले जनाएको छ । आगामी दिनमा बढी झोला उत्पादन गर्न सकिएमा विभिन्न प्रदर्शनीमा राखेर विद्यार्थीले आफ्नो उत्पादन बिक्री, वितरण गर्न सक्ने ओझाले उल्लेख गरे । हरियो, स्वच्छ र सफा नगर बनाउने अभियान सञ्चालन गरिएको धनगढीमा विगत तीन वर्षदेखि प्लास्टिक प्रयोग निषेध गरिएको छ । प्लास्टिकको झोला प्रयोग गर्न नपाइने भएका कारण धनगढीमा कपडाको झोलाको प्रयोग र माग बढ्दो छ ।













