नवजीवन अस्पतालका सञ्चालक ढुङ्गानाले व्यहोरे मनसराको उपचार खर्च

कैलाली । नवजीवन अस्पतालका सञ्चालक यज्ञराज ढुङ्गानाले मनसरा देवी खडायतको उपचार खर्च व्यहोरेका छन् ।

डोटी गड्सेरा ५ का खडायतको भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उनले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराइरहेकी थिइन् । दुई दिन ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएका हुन् ।

घटनाको दुई दिन सम्म उपचार नपाएको हुँदा खुट्टाको चोटले पुरै खुट्टामा संक्रमण गरिसकेको थियो । वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. विदुरमणी ढकाल नेतृत्वको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेका थिए । त्यस क्रममा उनको उपचारको लागि लागेको करिब २ लाख बढि रकम आफूले व्यहोरेको ढुङ्गानाले बताए ।

‘आर्थिक अवस्था निकै नाजुक भएर उपचार गर्न सकिरहनु भएको थिएन । मैले उहाँको सम्पूर्ण उपचार निःशुल्क गरिदिएको छु’ अध्यक्ष ढुङ्गानाले भने, ‘जनताको सेवा गर्नु नै धर्म हो ।’ ढुङ्गाना नेकपा एमाले कैलालीका अध्यक्षपनि हुन् ।

७८ वर्षकी मनसराको श्रीमान् छैनन् । एक छोरा अपाङ्ग छन् भने अर्का सानै छन् । आफूहरूले उपचार गर्न समस्या भइरहेको बेला ढुङ्गानाले उपचार गरिदिएपछि ठुलो राहत मिलेको छोरा कुमार खडायत बताउँछन् ।

‘हामी गरिबको पीडा पनि बुझिदिने हुनुहुँदो रहेछ उहाँले मेरो आमाको उपचार गरेर ठुलो सहयोग गर्नु भएको छ’ छोरा कुमारले अध्यक्ष ढुङ्गानालाई आभार प्रकट गर्दै भने ।

असोज ६ गते घाँस काट्न जाँदा लडेर मनसरा घाइते भएकी थिइन् । उनी ८ गते अस्पताल भर्ना भइन् । भीरमा लडेर दुई दिन सम्म घरमै थलिएकी उनले आफ्नो उपचार हुने सम्भावना टर्दै गएको बताएकी थिइन् । अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि आफूले पुनर्जन्म पाएको उनले बताइन् ।

‘म त बाच्दिन कि जस्तो लागेको थियो । उहाँले उपचार गरिदिनुभयो, धन्य होस् उहाँलाई’ महिलाले भनिन् । मनसराको सफल शल्यक्रिया भएपछि अध्यक्ष ढुङ्गानाले उनलाई जुस पिलाएर खुसी साटेका थिए ।