भारतसंगको सीमा नाकामा नेपालीहरुको चहलपहल
धनगढी । हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरुको चहलपहल बढेको छ । रोजगारीको शीलशिलामा भारतको विभिन्न सहरमा पुगेका नेपालीहरु दसैँ मनाउन घर फर्किरहेका छन् ।
धान रोपाइँ सकेर कैलालीको कैलारी गाउँपालिका–२ का बिन्दुराम चौधरी भारतको हिमाञ्चल प्रदेशको सिमला पुगेका थिए । तीन महिना स्याउ टिप्ने काम गरेर केही रकम आर्जन गरेका उनी दसैँ मनाउन घर फर्केका हुन् ।
बेरोजगारीका कारण भारत पसेका उनी घरको जोहो टार्न केही कमाइ गरेर फर्किएको सुनाउँछन् । उनले भने, ‘छोराछोरीको भविष्य तथा घरको जीविकोपार्जनका लागि बाहिर जानैपर्ने बाध्यता छ ।’
नेपालमै रोजगारी पाइने भए घर छाडेर अर्काको देश जानु पर्ने अवस्था नआउने उनको भनाइ छ । ‘अलिअलि कमाइ गरेपछि दसैँ त घरपरिवारसँगै मनाउनुपर्छ भनेर आइयो,’ उनले भने ।
भारतको सिमलामै रहेका कैलारी गाउँपालिका–६, बेनौलीका विजय चौधरी पनि घर फर्किने तयारीमा छन् । उनको श्रीमती संगीता चौधरीका अनुसार विन्दुराम र विजयमात्रै होइन, दसैँको आगमनसँगै कामको सिलसिलामा घरभन्दा बाहिर गएका नेपाली कोही घर फर्किसकेका सुनाए । कोही भने फर्किने तयारीमा छन् ।
सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने क्रम जारी छ । घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेको गुनासो गर्छन् ।













