जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, कैलालीमा तीन जनाको मृत्यू
कैलाली । बिभिन्न भाइरल रोगको संक्रमण बढ्ेसंगै जापानिज इन्सेफलाइटिसको संक्रमणपनि तिब्ररुपमा फैलिदै गईरहेको छ । कैलालीमा अवस्थित संजीवनी अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीका अनुसार अस्पतालमा पछिल्लो समयमा जापानिज इन्सेफलाइटिसको संक्रमणका विरामीहरु बढीमात्रमा आईरहेका छन् ।
उनले धनगढीकै मनेहराबाट १९ बर्षका एक जना बिरामी संजीवनी अस्पताल आएर उपचार गरेको बताए ।
विरामी अस्पताल पुग्दा उच्च ज्वरो र अचेत अवस्थामा रहेको थियो । डाक्टरको सल्लाह अनुसार आइसियुमा राखेर सफल उपचार भएको डा. सुमन चौधरीले जानकारी दिए ।
छोरालाइ यो रोग लागे पश्चात् हिँड्न,बस्न र बोल्न समेत नसक्ने भएको र धनगढीको संजीवनी अस्पतालमा पुगेपछि आफ्नो छोरालाई सन्चो भएको बिरामीका बुवा केशर रानाले बताए । जापानिज इन्सेफलाइटिस एक प्रकारको मस्तिकको सुजन हुने भाइरल रोग भएको र क्युलेक्स प्रजातीको लाम्खुट्टे को टोकाइबाट सर्ने गर्छ। यो रोग लागेका बिरामीको ३० प्रतिशत सम्म मृत्यु हुने गरेको छ।
पछिल्लो समय विभिन्न सरकारि तथा निजि अस्पतालहरूमा यस रोगका बिरामीहरू बढ्दै गएको र हालसम्मको अवस्थामा नेपाल भर ७० जना बिरामी संक्रमित देखिएका छन् । संक्रमित मध्ये १८ जनाको मृत्यु भएको डा. सुमन चौधरीले बताए । उनले कैलाली जिल्लामा ८ जना बिरामी संक्रमित देखिएको र संक्रमित मध्ये ३ जनाको मृत्यु भएको बताए ।
जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण भएमा सामान्य लक्षण देखि जटिल प्रकारको लक्षण हुन्छ। सामान्य लक्षण भन्नाले ज्वरो आउने, टाउको दुख्ने,शरीर गल्ने हुन्छ भने जटिल प्रकारका लक्षणहरु उच्च ज्वरो, टाउको दुख्ने, वान्ता हुने र अन्य न्युरोलोजिकल लक्षण जस्तै होस हराउने,मिर्गी आउने ,प्यारालाइसिस हुने तथा कोमामा जाने हुन्छ।यस रोगको विशेष एन्टीभाइरल औषधि नभएको हुँदा सामान्य लक्षण भएका बिरामीले प्रशस्त झोलिलो खानेकुरा र सिटामोल खाई आराम गर्नुपर्दछ।
जटिल अवस्थामा भएका बिरामीलाई रोग को पहिचान गरि अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्दछ। यस रोगको सङ्क्रमण बाट बच्नका लागि जापानिज इन्सेफलाइटिस खोप लगाउनु पर्छ र क्युलेक्स प्रजातिका लाम्खुट्टे को टोकाइबाट सुरक्षित हुनु नै मुख्य उपाय हो ।













