धानबालीमा रोग नलागोस् भनेर हरेरी पुजा

कैलाली । थारू समुदायले धानबालीमा रोग तथा कीरा फट्यांग्रा नलागोस् भनेर हरेरी पूजा गरेका छन् । थारू समुदायका गाउँबस्तीमा धान रोपाइँपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ ।

साउनदेखि भदौमा यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी पूजा गरिँदै आएको विश्वास छ। यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ ।

गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग गरि पूजागर्ने र रातभर जाग्राम बसेर मादल बजाई नाचगान गरेर रमाइलो गर्ने चलन छ ।गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ । केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्दछन् ।

यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ। तान्त्रिक विधिबाट सहायक गुरुवाका रूपमा रहेका केशौकाको जीउमा देवता सवार गराउने चलन पनि रहेको छ । केशौकाको जीउमा सवार देउताले गुइँठामा बालिएको आगोमा हामफाल्ने गर्दछन् । शरीरमा आगोले नछोओस् भनेर मन्त्रद्वारा बाध्ने कार्य गरिन्छ । अर्को दिन खरिभन (दूध र आगो) खेतको पानीमा मिसाउने चलन छ । त्यसो गर्दा धानबाली सप्रिने जनविश्वास रहेको छ ।