छुट मुक्त कमैयाहरुको व्यवस्थापन नहुदा आन्तरिक द्धन्द्ध चर्किदै

कैलाली ।कमैया मुक्ति घोषणा भएको २४ वर्ष वितिसक्दा समेत धेरै मुक्त कमैया अझै गाँस बाँस, स्वास्थ्य र शिक्षाको जोखिममा छन् ।

मुक्त कमैया महिला विकास मञ्चका संस्थापक अध्यक्ष कौशिला चौधरीका अनुसार सरकारले अझै धेरै मुक्त कमैयाँहरुलाई व्यवस्थापन गर्न नसक्दा उनीहरु आन्तरिक द्धन्द्धमा बाँचिरहेको पत्रकार सम्मेलनमा जानकारी गराईन् ।

उनले भनिन् ‘कयौं बस्तीमा संगै बस्दै आईरहेका मुक्त कमैयाँहरु परिचय पत्र नपाएका कारण अहिले उनी आफ्नै बस्तीमा आन्तरिक लडाई लडिरहुन परेको छ । परिचय पत्र पाउँनेले नपाएकालाई त्यहाँबाट हट्न भन्छन् र उनी बिच झगडा हुन्छ । यस्तो समस्या समाधानकालागि सरकार गम्भिर हुनुपर्छ ।’

लामो संर्घषपछि २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएको हो । मुक्त कमैयाहरु साउन २ हरेक वर्ष मुक्ति दिवसपनि मनाउँदै आइरहेका छन् । यो २४औं मुक्ति दिवस हो ।

तत्कालिन सरकारले मुक्त कमैया ऐन २०५८ जारी गरि मुक्त कमैयाहरुलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जनकासंगै पुन स्थापनाको कार्यक्रम सञ्चालन गरेको थियो ।

त्यो बेला २७ हजार ५७० मुक्त कमैया परिचय पत्र पाएका थिए जस मध्ये २ हजार ३७५ मुक्त कमैयाको पुनस्थापना हुन बाँकी थिए । उनका अनुसार अझै मुक्त कमैया त परिचय पत्र समेत पाएका छैनन् सरकारले उनीहरुलाई तत्काल सम्बोधन गरोस् भनने माग समेत राखिन ।

मुक्त कमैया महिला विकास मञ्चले परिचय पत्र प्राप्त गरेका २७५७० मध्ये पुनःस्स्थापना हुन नसकेका २३७५ मुक्त कमैयाहरुको पुनःस्थापना कार्य अगाडी वढान माग गरेको छ । संस्थाले एक प्रेस ज्ञिप्ती जारी गर्दै १२ हजार ७६९ मुक्त कमलहरीहरु मध्ये (परिचय पत्र प्राप्त ४ हजार ९३४, परिचय पत्र पाउन वाँकी ७ हजार ८३५ र छुट मुक्त कमलहरी ३ हजार २९६ को पहिचान गरि परिचय पत्र र स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्थाको पनि माग गरेको छ ।

त्यस्तै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिति २०७८ सालमा श्याम श्रेष्ठको अध्यक्षतामा गठन भएको ५ सदस्य मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थीति अध्ययन समिति द्वारा अध्ययन गरि तयार गरिएको प्रतिवेदन कार्यान्वय हुनुपर्ने लगायतका मागहरु कार्यन्वय गर्न अनुरोध गरेको छ ।

पत्रकार सम्मेलन संस्थाका अध्यक्ष सीमा कुमारी चौधरीको सभा अध्यक्षमा भएको थियो भने संस्थाले तयार पारेको विज्ञप्ती संस्था कार्यक्रम संयोजक इन्द्र चौधरीले प्रस्तुत गरेका थिए ।