सुदूरपश्चिममा माओवादी संसदीय दलभित्र विवाद, नाउपामा फेरिए
कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलभित्रको विवाद अझै सुल्झिन सकेको छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार ४ गते गरेको निर्णय प्रति अझै विवाद कायमै छ ।
२०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाएको थियो ।
विवाद समाधान झन् उत्कर्षमा पुगेपछि अध्यक्ष ‘प्रचण्ड’ले यही असार ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएर सहमतिबाट भट्टलाई नेता बनाउन निर्देशन दिएका थिए ।
भट्टका अनुसार प्रचण्डको निर्देशन कार्यान्वयन नभएपछि पार्टीले १२ गते परिपत्र पठाएको थियो । तर एक महिना बित्न लाग्दासमेत प्रचण्डको निर्देशन कार्यान्वयन भएको छैन ।
नेता धामीले पार्टीको निर्देशन कार्यान्वयन नभएको विषयमा उल्टै भट्टबाट असहयोग भएको आरोप लगाउछन् । सहमतिबाट विवाद सुल्झाउन आफूले पटकपटक सम्पर्क गर्दासमेत भट्टले फोन नउठाएको धामीको आरोप छ ।
‘पार्टीको परिपत्र आएको छ । सहमतिबाटै दलको नेता परिवर्तन गर्न पहल भइरहेको छ । यस विषयमा पटकपटक उहाँसँग सम्पर्क गर्दा फोन नै उठाउनुभएको छैन । दलको नेता बन्न मन लागेको छैन जस्तो लाग्यो’, धामीले भने ।
प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले यस विषयमा अहिले केही बोल्न मानेन् । उनले भने ‘सहमतिमै दलको नेता चयन हुन्छ । विवाद समाधानको पहल भइरहेकाले अहिले नै यस विषयमा केही बोल्न मिल्दैन ।’
उता नागरिक उन्मुक्ति पार्टीले भने संसदीय दलको नेता हेरफेर गरेको छ । यस अघि नाउपा संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई उक्त जिम्मेवारीबाट हटाउँदै प्रमुख सचेतक खुसीराम चौधरीलाई दिइएको छ ।
त्यस्तै, उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको छ । प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर छ ।













