पावर टिलर पाउँने आशमा ठगिएका किसानलाई पैसा फिर्ता लिन सहकारीको अह्रवान
कैलाली । कैलालीको कैलारी गाउँपालिका स्थित कालीमाइ सहकारीबाट पावर टिलर बाँड्ने हल्ला सुनेपछि दुई सय बढी किसानहरुले पैसा जमा गरेका थिए ।
सहकारीका अध्यक्ष अमित चौधरीका अनुसार किसानहरुलाई फारम भर्न लगाएका हौं । तर फारम भर्नेहरुलाई पावर टिलर कहिले कति वटा आउँछ भन्नेबारे कुनै निश्चित नरहेको पनि जानकारी दिएका थियो ।
उक्त संस्थाको सहकार्यमा २०८१ असारको पहिलो सातामा १४० जना किसानलाई ५० प्रतिशत रुपैया अथार्त २४ हजारको मोटरलाई १२ हजारमा वितरण समेत गरिसकेका सहकारी अध्यक्ष चौैधरीले बताए ।
अध्यक्षले भने ‘मोटर वितरण भए लगत्तै पावर टिलरको अर्फर आएको हो । त्यहि अनुरुप हामी प्रति किसानबाट एक लाख १७ हजार रुपैया लिएका छौं । २०८१ असार १७ गते सम्म (एक हप्ताको अवधिमा २ सय ३० किसानले महालक्ष्मी बैंकमा रहेको सहकारीको खातामा पैसा जमा गरेका छन् । उक्त पैसा हामी किसानहरुलाई फिर्ता गर्ने भनेर अह्वान गरिसेका छौं ।’
सहकारीले बाँडन थालेको पावर टिलरको फारम संकलन कर्ताको नाममा विचौलियाहरु गाउँ गाउँमा पसेर धेरै किसानहरु ठगिएको सूचना प्राप्तपछि सहकारीले असार २७ गते बैठक बसी जम्मा गर्ने किसानहरुलाई पैसा फिर्ता लिन बोलाउने निर्णय छ ।

अध्यक्ष चौधरीका अनुसार बाल सशक्तिकरण नेपाल काठमाडौं जिल्ला प्रसासनमा दर्ता भएपनि कैलाली जिल्लामा काम गर्ने भनेर जिल्ला प्रसाशान कार्यालय कैलालीमा अनुमति नलिएको कारण सो संस्थासंग सहकार्य नगर्ने भनि पावर टिलरकालागि जम्मा गरिएको पैसा फिर्ता दिन किसानहरुलाई अनुरोध गरेका हौं ।
त्यसैगरि अखुवाँ सहकारीलेपनि पैसा जमा गरेका किसानलाई सहकारीमा आएर फिर्ता लिन अह्वान गरेको छ ।
ठगिएका किसानहरुको दुखेसो
कैलारी गाउँपालिका वडा नं. ४ भित्तरियाका जनक चौधरीले पनि चिनेकै व्यक्ति हुन् भनेर ५८ हजार ७५० रुपैयाँको सुशिला खड्का ओझा नाम गरेको व्यक्तिको खातामा पैसा जम्मा गरेका भने बाँकी ६६ हजार २५० रुपैयाँ विमला चौधरीको हातमा नगद दिएका छन् । नगद दिएको पैसाको कुनै भौचर छैन ।
उनलाई जेठ २० गते नै पावर टिलर दिने भनिएको थियो । बर्खे धान खेतीमा सहजता होला भनेर व्यक्तिको हातमा दिएको हुँ, तर हालसम्म पावर टिलर नपरेपछि उनी आफू ठगिए कि भन्ने चिन्तामा छन् ।
यहाँसम्मकी बैंक भौचर बाहेक ६६ हजार २५० रुपैयाँ लिन आएको ब्यक्तिले खाएको थाहा पाएपछि उनी झन छाँगाबाट खसेझै भएकी छिन् ।
त्यसैगरि कैलालीको कैलारी गाउँपालिका ५ सडकपुरकी विमला चौधरी गएको जेठ १७ गते पावर टिलर मेसिन दिलाउने भन्ने केही व्यक्तिहरुलाई १ लाख २५ हजार नगद बुझाइन् ।
दुखेसो सुनाउँदै भनिन्, ‘रातदिन नभनी कमाएको पैसाले खेतीपातीमा सहजता होला भनेर पैसा दिए । तर हालसम्म पाइएन । म त धनगढीसम्मै पुगेको थिए । तर रित्तै फर्कियौ । अब खेतीपाती पनि सकियो । नत पावर टिलर, नत पैसा छ हातमा ।’
विमला र जनक मात्रै होइन, कैलारी गाउँपालिकामा मात्रै सुशिला खड्का ओझाको खातामा ४८ जनाले ५८ हजार ७५० रुपैयाँको दरले पैसा जम्मा भएको छ । ती ४८ जना किसानबाट पैसा जम्मा गराउने व्यक्तिहरुले ६६ हजार २५० रुपैयाँको दरले नगद लिएको खुलेको छ ।
उता सुशिला खड्काले आफुहरुले किसानको २५ प्रतिशत र संस्थाको ७५ प्रतिशत लागत साझेदारीमा पावर टिलर मेसिन दिदै आएको बताएकी छिन् । खड्का सुरो नेपाल विशालनगर धनगढीकी संस्थापक अध्यक्ष हुन् ।
उनले भनिन्, ‘कैलालीको कैलारी गाउँपालिकामा मात्रै हाम्रो १ हजार जनालाई पावर टिलर बाँड्ने योजना हो । तर बिचमा पैसा उठाएर खाने दलालबाट हामी पनि हैरान छौ ।’
किसानको घरमै गएर अनुदानको बारेमा स्पष्ट पारेको दाबी गर्दै खड्काले किसानको बाँकी रकम ६६ हजार २५० रुपैयाँ फिर्ता नभएसम्म वितरणको कार्य रोकेको बताइन् । हालसम्म ४८ जना किसानमध्ये ५ जनालाई पावर टिलर मेसिन दिइसकेको खड्काको भनाइ छ ।
यहाँ ४८ किसान मात्रै होइन ५० प्रतिशत अनुदानमा पावरटिलर बाँड्ने भन्ने अन्य संघ संस्था तथा सहकारीका व्यक्तिहरुलाई संयौ किसानहरुले जेठ र असारको अवधीमा १ लाखदेखि १ लाख २५ हजार रुपैयाँसम्म बुझाएका छन् । तर हालसम्म सामान नपाएको उनीहरुले दुखेसो छ ।

गाउँमा पावर टिलर दिलाउने भनी संलग्न व्यक्ति भने फरार रहेको बुझिएको छ ।
किसानबाट पैसा संकलन कार्यमा रहेका धनगढी उपमहानगरपालिका ७ बेलीका मेलाराम राना र कैलारी ५ मनिकापुरका सन्तोष चौधरी किसानको पैसा उठाएर फरार छन् ।
विमलाले भनिन्, ‘पावर टिलर जेठ २० गते पनि नदिएपछि असार ५ गते दिने भनियो । त्यसपछि असार ११ गतेसम्म पनि पाएनौं । त्यसपछि हामी धनगढीको एक शो रुममै पुगेका थियौ । तर शो रुममै पावर टिलर नभएपछि हामीबाट पैसा लिएका मेलाराम राना र सन्तोष चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलियामा छोपर ल्याएका थियौ ।’
सुरो नेपालका अध्यक्ष खड्कासँगको संवादपछि पीडित किसानहरु र पैसा उठाउनमा संलग्न पक्षहरु फर्किएको इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकन्द्र चन्दले बताए । आपसी लेनदेनको विषय गाउँपालिकाको न्यायिक समितिले हेर्ने भएकोले न्यायिक समितिमा उजुरी पेश गर्न आफूले सुझाव पनि दिएको चन्दले बताए ।
पैसा संकलनमा केही सहकारी र संघ संस्था पनि संलग्न
कैलालीमा ५० प्रतिशत अनुदानमा पावर टिलर बाँड्ने भन्दै केही सहकारी संस्था तथा गैरसरकारी संस्था पनि सक्रिय छन् ।
जिल्लाको कैलारी गाउँपालिकास्थित कालीमाइ सहकारी संस्था लिमिटेड र अखुवा सहकारी संस्था लिमिटेडका साथै बाल सशक्तिकरण नेपाल नामक गैरसरकारी संस्था पनि संलग्न रहेको पाइएको छ ।
बाल सशक्तिकरण नेपालले १ सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा संलकन गरेको छ । कैलारी गाउँपालिका ६ बेनौलीका गया प्रसाद चौधरीले गएको जेठमै बाल सशक्तिकरणको लागि भन्दै रकम संकलन गरिरहेका चिनजानकै व्यक्तिलाई १ लाख रुपैया बुझाएको बताउँछन् । तर उनीसँग पैसा बुझाएको न कुनै रसिद छ, नत कुनै बैंक भौचर नै ।
असार १२ गतेभित्र पावरटिलर दिने भनिएको उनलाई अब साउन पहिलो साता दिने भन्दै आश्वास्त पारिएको छ ।
त्यस्तै, नाम उल्लेख नगर्ने शर्तमा कैलारी गाउँपालिका ६ का एक जना व्यक्तिले कालीमाइ सहकारीलाई पावर टिलरको लागि १ लाख १७ हजार बुझाएको बताए । तर सामान आउनेबारे कुनै अत्तोपत्तो नहुँदा दुखेसो पोखे ।
बाल सशक्तिकरण नेपालका अध्यक्ष योगेश योगीले युएन एजेन्सीसँगको सम्झौता अनुसार काम गरिहेको दाबी गरेका छन् । तर कुन युएन एजेन्सीसँग यसम्झौता भएको र सम्झौता पत्र तथा सम्झौतापत्रमा के–के कुरा उल्लेख भएकोबारे बताउन चाहेका छैनन् ।
कालीमाइ सहकारीका अध्यक्ष चौधरीले आफूहरु बाल सशक्तिकरण नेपालसँगको सहकार्यमा भएको सम्झौता अनुसार ५० प्रतिशत अनुदानमा पावरटिलर बाँड्ने बताए ।
२ सय ३० जना किसानले पैसा बुझाएको बताउँदै उनले त्यसको आफूहरुसँग बैंक भौचर पनि सुरक्षित रहेको जानकारी दिए ।
गाउँपालिकाको अनदेखा
गाउँपालिकाभित्रै किसानबाट मनलाग्दी पैसा संकलन भए पनि कैलारी गाउँपालिका भने बेखबर जस्तै बनेको छ । कुनै पनि गैरसरकारी संस्था पालिकाभित्र कार्यक्रम गर्नु पूर्व निश्चित समयभित्र अनुमति लिनुपर्ने वा संस्था सूचीकृत गराउनुपर्ने प्रावधान छ । तर ती गैरसरकारी संस्थाहरु आफ्नै ढंगले काम गर्दा पनि गाउँपालिका मौन छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले भने, ‘किसानबाट पैसा उठाउन थालेपछि मात्रै थाहा पायौ । पछि हामीले आफै सम्पर्क गरेपछि जानकारी पत्र चाहीँ दिएका छन् ।’ बढी पैसा लिएको घटना बाहिरिएपछि सुरो नेपाल पनि सम्पर्कमा आएको र समस्यामा परेका किसानलाई पालिकाको न्यायिक समितिमा निवेदन पेश गर्न गाउँपालिका अध्यक्ष चौधरीले अनुरोध गरेको छ ।
व्यक्तिगत खाता र नगदको हकमा के हुन्छ त ?
किसानलाई पावरटिलर मेसिन बाँड्न रकम संकलनको सत्यतथ्य बुझ्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई आग्रह गरेको थियो । तर जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी नपरेकोले अनुसन्धान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार आफू ठगिएको बारेमा निबेदन लिएर जिल्ला प्रहरी कार्यालय आउनु पर्यो । सोही निवेदनको आधारमा हामी सत्यतथ्य कुरा बुझ्न अनुसन्धान टोली खटाउने हो । विष्टले भने ।













