बाढी प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्ति दिनुपर्छ : मन्त्री भाट

कैलाली । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा जेष्ठ नागरिकमन्त्री ओम बिक्रम भाट सरलले कैलाली कञ्चनपरसहित जिल्लामा भएका बाढी र पहिरो प्रभावितलाई तीनै तहको सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने बताएका छन् ।

कञ्चनपुरका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । प्रदेशमा सबैभन्दा धेरै कञ्चनपुरमा बाढीले क्षति गरेको छ । यहाँ चार जनाले ज्यान समेत गुमाएका छन् । मन्त्री भाटले सरकार प्रभावितहरुको साथमा रहेको भन्दै सान्तोना व्यक्त गरे ।

मन्त्री भाटका अनुसार कञ्चनपुरको बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका वाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्दै प्रभावितलाई राहत, क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन्।

उनले बाढी पछि रोगको महामारी पनि फैलिन सक्ने भन्दै सबैलाई यसविषयमा ध्यानदिन सुझाब दिए ।

स्वास्थ्य, महिला तथा जेष्ठ नागरिक मन्त्रीका स्वकीय सचिव कैलाशचन्द्र गिरीले मन्त्रीले सबै क्षेत्रका प्रभावितसँग छलफल गरी राहतका प्याकेजका बिषयमा समन्वय गरिरहेको जनाए । मन्त्री भाटसंगै जलस्रोत तथा शहरी विकासमन्त्री अक्कल रावल सहितले समेत स्थलगत अनुगमन गरेका थिए ।