लगतार वर्षाले कञ्चनपुरमा १६ सय परिवार विस्थापित, एक शिशुको मृत्यु
कैलाली । तीनदेखि लगातार परेको वर्षाको कारण कञ्चनपुरका १६ परिवार विस्थापित भएका छन् भने एक जना शिशुको मृत्यू भएको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको जनाइएको छ । भारी वर्षाका कारण अझै थुप्रै बस्ती जोखिममा पर्न सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
जोशीका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका लगायतका क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका हो । डुबानमा परेका स्थानियलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिरहेको बताए । उनीहरुलाई विद्यालय र आफन्तको घरमा राखिएको जानकारी दिए ।
शिशुको मृत्यु
कञ्चनपुर जिल्लाकै कृष्णपुर नगरपालिका १ मोटीपुरका ७ महिनाको बालक सोलु धानुकको मृत्यू भएको प्रहरी कार्यालयले जनाएको छ । घरभित्र पानी पसेपछि राती बच्चा बेडबाट भुँईमा खसेर मृत्यु भएको थियो ।
जोशीका अनुसार बच्चा सुतिरहेका बेला बेडबाट भुँइमा खसेको थियो । भुँइमा पानी जमेकोले पानीमा डुबेर बच्चाको घरमै मृत्यु भएको हो ।
शारदा ब्यारेजका सबै ढोका खोलिँदा बस्ती डुबानमा
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएपछि नदीको पानी बस्तीमा पसेर डुबान भएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार महाकालीमा पानीको तह ३ लाख ४० हजार क्युसेक पुगेको छ । महाकालीमा नेपालतर्फका सबै ढोका खोलिएका छन् । आइतबार राति पानीको स्तर ४ लाख क्युसेक पुगेको महाकालीमा अहिले भने घटिरहेको छ ।
महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती डुबानमा परेका छन् ।
यस्तै, महाकालीको पानीले दोधारा चाँदनी नगरपालिकाका बस्ती पनि प्रभावित भएको छ । ती बस्तीहरूमा पानी पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको जनाइएको छ । नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि सवारीसाधनको आवागमनमा समेत रोक लगाइएको छ ।
त्यसैगरि कैलालीको मोहना नदीमा पानीको सतह बढेपछि दक्षिण पूर्वका बस्ती –कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जोखिम छन् । जिल्ला प्रशासन कार्यालयले ती बस्तीहरूका सतर्कता अपनाउन र उद्धार कार्यकोलागि अह्रवान गरेको छ ।













