सुदूरपश्चिममा लगातार वर्षा, सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक
कैलाली । सुदुरपश्चिममा लगातारको वर्षापछि तीन ठुला नदीको जलस्तर बढेको छ । सेती, महाकाली र कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेको बताइएको छ ।
दार्चुला भएर बग्ने महाकाली नदीको जलस्तर बढेको छ । स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ भने बझाङ भएर बग्ने सेती नदीको जलस्तर पनि बढेको स्थानीय प्रशासनले जनाएको छ ।
पहाडि जिल्लामा लगातारको वर्षाले कर्णाली नदीको जलस्तर खतरा नजिक पुगेको हो । वर्षाले तराईको धेरै बस्ती जलमग्न छन । बझाङमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरीको आवागमन प्रभावित बनेको छ ।
त्यसैगरि नदीको सतह बढेसँगै बाढीको खतरा हुने भएकोले सेती नदी र यसका सहायक खोलाको आसपास बस्नेलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभागको नदी सतह अनुगमन गर्ने वेबसाइटले सेती नदीमा पानीको सतह करिब तीन मिटरले बढेको जनाएको छ ।













