लागूपदार्थ सेवनले जीवनलाई नर्क बनाउँछ

विश्व स्वस्थ्य संगठनका अनुसार लागू औषध एक प्रकारको रासायनिक पदार्थ हो । यस्ता पदार्थहरुको सेवनले शरीरमा उत्तेजना पैदा गर्ने गर्दछ । अहिले यस्ता लागू औषधहरुको प्रयोग विश्वव्यापी रुपमा एउटा जटिल समस्या बन्दै गईरहेको छ । लागू औषधको कुलतले खास गरेर युवायुवतीहरु नराम्रोसंग फस्दै गईरहेका छन् । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यस्तो समस्या दिनानुदिन वढ्दै गइरहेको छ । यसले खास गरेर युवा जमातलाई गाँज्दै लगेको देखिन्छ । कुनै पनि औषधिको काम भनेको मानिसलाई जीवन दान दिनु हो । तर यसको दुरुपयोग (abuse) ले मानिसहरुमा घातक परिणाम ल्याउँदछ र अकालमा मृत्यु तर्फ घचेटि दिन्छ ।

स्वास्थ शरिर मनुष्य जिवनको अनुपम बरदान हो । आज हामी नेपालीहरुले स्वस्थ शरिरको मर्म र महत्व नबुझेकोले धेरै ठुलो क्षति भईहेको देखिन्छ । यो क्षतीलाई राष्ट्रकै क्षति भनेमा पनि कुनै अत्युक्ति हुने छैन । स्वस्थ शरिरमा नै स्वस्थ मन र बिचार रहन्छ । तर आज रोग ग्रस्त शरीर बोकेर मानिसहरु दगुरीरहेका छन । स्वस्थ शरिर लिएर दिर्घजीबि बन्ने ईच्छा छ भने जाड, रक्सी र धुम्रपानको अम्मल आजै छोड्नुहोस । अश्वस्थ शरिर लिएर क्षणजीबी वन्ने ईच्छा छ भने जाँड, रक्सी र तास यो छनोट गर्ने ईच्छाको मूल अबिभारा तपाईको हो । तपाई स्वतन्त्र हुनुहुन्छ, छनोट गर्न पाईन्छ – जीवन वा मृत्यु ।

जाँड रक्सी समाजका सबै वर्गका मानिसहरुले सेबन गर्दछन । धनाढ्य, कुलिन बर्ग पनि जाँड रक्सी पिउँछन । रिक्सा, ठेला गाडा चलाउनेले पनि पिउँछन । कोही शोखले पिउँछन । कोही कसैले पिलाएपछि पिउँछन । कोही पिउनको लागि घरको भाँडा बेचेको मैले प्रत्यक्ष देखेको छु । जब स्थि ति यसरी उग्र बन्दछ फेरी किन यसको प्रतिध्वनी निस्कदैन । अनेक प्रतिध्वनीहरु किन को बिशाल प्रश्नबाचक चिन्ह छोड्दछन ।

किन पिउँदछन मानिस जाँड रक्सी जाँड रक्सी पिएर स्वास्थ्य लाभ हुने आशा पनि लिन्छन । तर त्यो आशा बालुवाबाट तेल निकाल्नु झै ठहरछ । जाँड रक्सी पिएर स्वास्थ्य कहिलै राम्रो हुदैन । राम्रो स्वास्थ्य नाश गर्नु पर्यो भने जाँड रक्सी पिउने अम्मल बनाए पुग्यो । यूबा पिढीहरुले जाँड रक्सी पिउने प्रबृत्तिलाई बढाएका छन । उच्चपदाधिकारीहरुले जाँड रक्सी पानलाई सर्बोपरी स्थान दिएको देखिन्छ । विगत दश बर्ष भित्रमा जाँड रक्सीपान अर्थात अल्कोहिलिज्मबाट ठुला र सानाहरुमा समान रुपबाट प्लेगको रोगहरु जसरी सर्बत्र फैलिएको छ । प्रत्येक दिन, प्रत्येक घडि, प्रत्येक पल–पल यमपुरीको यात्रामा मानिसहरु दौडिरहेका छन । जाँड रक्सीको सेवनले हुने केही रोगहरुको चर्चा रोगहरुका सम्बन्धमा अरु चर्चा गर्नेछु ।

टि.बि.रोग

आज नेपालीहरुका घरघरमा फैलिएका रोग मध्ये टि.बि.रोगपनि एक हो । प्रत्येक परीवारको एक सदस्यलाई यो रोग लागेको देखिन्छ । यो रोगको लक्षण के हुन्छ भने शुरुशुरुमा साँझ पख जोरो आउँछ खान मन लाग्दैन, शारिरिक कमजोरी बढ्छ, बान्ता पनि हुन्छ, छाति दुख्छ, खोकी लाग्दछ पछि मुखबाट रगत आउँन थाल्दछ । यो रोग जुठो र बिरामीले चलाएको भाँडा राम्ररी नधुनाले वा बिरामीसंगको सहबासले अरुलाई सर्दछ । यो रोग जाँड रक्सी र धुम्रपान धेरै गर्ने मानिसलाई लाग्दछ । रक्सी पिउने मान्छले मात्रा बढाउदै लैजान्छ । भोजन वा तागतिलो पदार्थ खादैन । नशाले गर्दा जहाँ सुकै जस्तो ठाउँमा पनि सुत्छ, बस्छ, त्यसले गर्दा यस्तो डरलाग्दो रोग हुन्छ । तर हिजो आज टि.बि. भनेर आत्तिनु पर्देन । नियमित औषधी खाने र जाँड रक्सी, धुम्रपान छोडेको खण्डमा यो रोगबाट सदाको लागि मुक्ति पाउन सकिन्छ । डाक्टरहरुले पनि सर्बप्रथम यो रोगका बिरामीलाई सुरुमै भन्दछन –“सबैले जाँड–रक्सी र धुम्रपान छोड्नु हुन्छ भने मात्र म उपचार गर्छु । जाँड–रक्सी र धुम्रपान नछोडिकन यो रोगको उपचार गरेर फलदायि परिणाम निस्कदैन ।”

टाउको दुख्ने

रक्सी खाने मानिसहरुले खाएको भोलिपल्ट बिहान टाउको दुखेको वा ह्याङओभर भएको भन्ने गर्दछ । ज्यादा जोडले टाउको दुखेपनि बिहानै रक्सी पिएपछि ठिक हुन्छ भनेर बिहानै पिउने गरेको पनि देखिएको छ । बिहान चियाकै रुपमा रक्सी पिउने गरेको पनि देखिएको छ । बिहानै देखि नै रक्सी पिउने बानी बसेपछि त्यो मान्छेको आयू छोटो हुन्छ ।

हात वा शरीर काप्नु

रक्सी ज्यादा पिउने मानिसहरुको हात वा शरीर काप्दछ । बोलेको शब्दहरु बिस्तारै लठेबा्रे जस्तो हुन्छ, शव्द–बोली बुझन गाहो हुन्छ ।

जिब्रोमा स्वादको शक्ति हराउँदै जानु

रक्सी ज्यादा पिउने मान्छहरुको जिब्रोमा स्वादको शक्ति हराउँदै जान्छ । अल्कोहलले जिब्रोका छालाहरुलाई असर गर्दछ । कहिले–कहिले जिब्रोको छालामा घाउ पनि हुन्छ । र त्यस्तो घाउ निको नभएर क्यान्सर हुन्छ । घाटीको क्यान्सर पनि हुन्छ । धेरै रक्सी पिएर र कालीजको हाड गर्धनमा अडकिएर पूर्ब प्रहरी महानिरिक्षक रत्न समशेर राणाको असाहामिक निधन भएको सम्झना सबैलाई छ । यसै गरी डि.बि.लामा र हेम बहादुर सिंहलाई धेरै रक्सी पिउनेहरुको अग्रपक्तिमा राखिएको चर्चा आजतक चलिराखेको छ । धेरै रक्सी पिउनेहरु यहाँ धेरै छन ।

कलेजो (लिभर) खराब हुन्छ

रक्सीपान गर्नेहरुको कलेजो मोटो हुन्छ, बन्दुकको सिसाको छर्राले कलेजोमा प्वाल पारेको हुन्छ । जसरी कलेजोको धेरै भागमा प्वाल पर्दछ लिबर साईरोसिस रोग हुन्छ, मुखबाट रगत बान्ता गर्ने वा दिशा गर्ने पनि हुन्छ । कलेजो खराब भएपछि शरीरले साह्रो खानेकुरा पचाउन सक्दैन । रक्सी पिउनेहरुलाई भोक पनि कम लाग्दछ । पेट तथा पाचन ईन्द्रीयहरु तथा आन्द्राको भित्रि भागमा नोक्सानी पुग्दछ र ग्यासट्राईटिट हुने खतरा रहन्छ । माँशपेसिमा, स्वास–प्रश्वासमा र छालामा पनि असरहरु देखिन्छ । रक्सी पिउनेहरुको सन्तान हुँदैन र सन्तान विकृत जन्मन्छन । केन्द्रिय स्नायू स्थान तथा हार्मोन असन्तुलन गरेर रक्सीको कारण नपुंसकत्व पनि हुन सक्छ । साथै बढि रक्सीपान गर्ने पुरुषका सन्तान बिकृत पनि जन्मन्छन् ।

शरीर कमजोर हुन्छ

कोहि कोहि भन्छन रक्सी पिउनेहरु खुबै बलिया हुन्छन तर त्यसो होईन उनिहरु ज्यादै कमजोर हुन्छन । भिटामिनको कमी हुनु बिशेष गरि थाईमिन भन्ने बि कम्प्लेक्सको कमि हुन्छ ।

आँखाको ज्योति कम हुन्छ

रक्सी पिउनेहरुको पहिचान आँखाबाट गर्न सकिन्छ । रक्सी पिउनेहरुको आँखा धमिलो र रातो हुन्छ । एक हप्ता निद्रा नपरेको मान्छेको आँखा झै देखिन्छ । रक्सी खाने मान्छको मुख फुलेको हुन्छ । मुख भरीका छाला चाउरेको देखिन्छ ।

मुखको सास र शरिर गन्हाउँछ

रक्सी खाने मान्छेको सास गन्हाउँछ । कुहिएको मासु गन्हाएको जसरी रक्सी पेट भित्र गएपछि रक्सीको गन्ध मुख र नाकबाट गन्हाउँदछ । साथै धेरै रक्सी पिउने पियक्कडहरुको शरिर नै रक्सी–रक्सी गन्हाउँछ ।

सम्झना शक्ति हराउँदछ

धेरै समयसम्म रक्सी पिउने मानिसहरुको दिमागले काम गर्देन । उनिहरुका धेरै कुराहरुको सम्झना दिमागले गर्न सक्दैन । सम्झने शक्ति घट्दै जान्छ । यस्तोलाई अल्कोहलिक डिभोन्सिया पनि भन्दछन । दिमागका भित्रि भागका नशाहरु फुट्न सक्दछन । पक्षपात, सम्झना शक्तिको ह्रास र मानसिक कमजोरी बढ्दै गएर मानिस सुष्टमनस्थितिको पनि सक्दछ ।

असुरक्षित लागूपदार्थको प्रयोगका कारण एच.आई.भी., हेपाटाइटिस वी र सी लगायत अन्य रक्तजन्य संक्रमणबाट युवावर्ग तथा विद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रभावित समूहमा पदर्छ । सन् २०२० जूलाईमा राष्ट्रिय यौनरोग तथा एड्स नियन्त्रण केन्द्रले प्रकाशित गरेको तथ्याङ्क अनुसार पहिचान भइसकेको एच.आई.भी. संक्रमितको जम्मा संख्या ३७५९६ रहेको छ भने ति मध्ये १५ देखि ५० वर्षभन्दा माथीका एच.आई.भी. संक्रमितको जम्मा संख्या ३५०१४ जना प्रभावित भएको देखिन्छ । त्यसै गरी केन्द्रिय तथ्याङ्क विभागले हुर्कँदै गरेको किशोर किशोरीमा हुने शारिरीक, मानसिक तथा मनोवैज्ञानिक र भावनात्मक परिवर्तनले हुने अन्यौल मनस्थितिका कारण युवाहरु लागू पदार्थ सेवन गर्न पुग्छन् ।

त्यसैले लागुऔषध दुरव्यसनीबाट समयमै आफ्ना नानीबाबुहरुलाई जोगाउँ । यस्तो समस्या भएकाहरुको स्वास्थ्य पहिचान गरौं र उनीहरुलाई उचित मार्ग निर्देशन, सहि शिक्षा, समयमै उपचार र परामर्श दिएर लागूपदार्थ सेवनको निर्भरता बढ्नबाट रोकौं । जसले गर्दा स्वास्थ्य जनशक्ति र रक्तजन्य संक्रमणको उच्च जोखिमवाट जोगाँउछ ।