सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीलाई दिइयो जिम्मेवारी
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बिना विभागीय पाँच मन्त्रीलाई जिम्मेवारी हस्तारण गरेको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालय भने यथावत् नै छ ।
भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय । उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका उपनेता समेत रहेका अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाईन् ।
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापाले कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटले स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।













