बाढी प्रभावित बस्तीलाई यसरी उजाड पारियो, नगर प्रमुखको आपत्ति
कैलाली । कैलाली स्थित भजनी नगरपालिकाको वडा १ र ९ मा बस्दै आईरहेको बाढीपीडितको बस्तीलाई वन डिभिजन कार्यालयले उजाड पारिदिएको छ ।
वन डिभिजन कार्यालय पहलमानपुरले बाढीपीडितका नाममा बस्दै आएका झन्डै पाँच सय परिवारलाई हटाएर २० हेक्टर (३० बिघा) क्षेत्र खाली गराएको हो ।
सो क्षेत्रमा मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको समेत आग्रहमा ३५ र सात दिने सूचना जारी गरेर बाढी पीडितका नाममा जङ्गलमा बस्दै आएकालाई हटाइएको वन डिभिजन कार्यालयले जनाएको छ ।

वन डिभिजनले स्थानीय तहसँग कुनै समन्वय नगरी डोजर चलाएको भन्दै भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले आपत्ति जनाएका छन् । उनले वर्षाको बेला विकल्प नदिई डोजर चलाएकोमा दुख लागेको बताए ।
वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको नगर प्रमुख चौधरीले जानकारी दिए । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घर टहरा भत्काएको हो । भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा ३, ५, ७ र ९ का बासिन्दा बाढी पीडित भन्दै बस्दै आएका थिए ।













