सुदूरपश्चिमको पहाडमा डेंगु सङ्क्रमित बढ्दै
कैलाली । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा देखिन थालेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा समेत बढ्दै गएको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको सङ्क्रमण पनि बढ्दै गएको बताए । उनका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेको तथ्यांक रहेको बताए ।
निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको तथ्यांक छ । “पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ”, जोशीले भने, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका हुन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्न सक्छ ।”
डेंगु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ ।
निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । भने चार जनाको मृत्यु भएको थियो ।













