सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड
आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८१र८२ को बजेट पेश गरेका छन्। जसमध्ये चालु खर्चतर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी, पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँ छुट्याइएको मन्त्री पालले बताए।
चालुु आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम सरकारले आगामी वर्षको बजेट बढाएर ल्याएको छ। चालु आर्थिक वर्ष २०८०र८१ मा २९ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याइएको थियो।
खर्च जुटाउन भने सुदूरपश्चिम सरकार पनि केन्द्रमै निर्भर देखिएको छ। सरकारले आन्तरिक राजश्व परिचालनबाट एक अर्ब ६० लाख, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ नौ अर्ब ९९ करोड, संघीय रोयल्टीबाट चार करोड ४० लाख र वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख रुपैयाँ जुट्न अनुमान गरेको छ।
त्यस्तै, नगद मौज्दातबाट ६ अर्ब १५ करोड, संघीय सरकारले दिने सशर्त अनुदानबाट तीन अर्ब १३ करोड, समपूरक अनुदानबाट एक अर्ब ४२ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ जुट्ने प्रदेश सरकारको आकलन छ।
सुदूरपश्चिम सरकारले पनि भौतिक पूर्वाधारमै जोड दिएको छ। जसका लािग १३ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ।













