बयालपाटा अस्पताल सरकारको सहयोग पाएन, यसै वर्ष हस्तान्तरण गरिने

कैलाली । बयालपाटा अस्पताल निशुल्क स्वास्थ्योपचार गर्ने नेपालको एक मात्र अस्पताल हो । सरकारको असहयोगका कारण यो अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । सुदूर तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाका बासिन्दालाई निशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको बयालपाटा अस्पतालले एक वर्ष यता सरकारबाट कुनै सहयोग पाएको छैन ।

सरकारले बयालपाटा अस्पताललाई प्रदान गर्ने भनेको ८ करोड रुपैया आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि प्रदान गरेको छैन । त्यसमाथि यो पटक सरकारको नीति तथा कार्यक्रममै बयालपाटा अस्पताल परेन ।

अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपालले आर्थिक संकटका कारण अस्पताल सञ्चालन गर्न कठिनाई भएको भन्दै आर्थिक वर्ष २०८१र८२ भित्र बयालपाटा अस्पताल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ ।
सुदूर पश्चिमका पहाडी जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले बयालपाटाको पछिल्लो अवस्थालाई लिएर प्रदेश सरकारको ध्यानाकर्षण गर्दै तत्काल आर्थिक सहयोग गर्न दवाव दिएका छन् ।

नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावल, नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेय, नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवर लगायत पहाडी जिल्लाबाट निर्बाचित प्रदेश सभा सदस्यहरु र पालिका प्रमुखहरुले बयालपाटाको सेवा प्रभावित हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।