पश्चिम तराईमा भोलीदेखि लू चल्ने सम्भावना

काठमाडौं । पश्चिम नेपालको तराई मधेशमा भोलीदेखि तीन दिनसम्म तातो हावा (लू) को जोखिम देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष बुलेटिन जारी गरी चितवनभन्दा पश्चिमका तराईका जिल्लामा जेठ ४ देखि ६ गतेसम्म तातो हावा तथा तातो लहर चल्न सक्ने जनाएको छ। यी क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाएको छ।

देशका अन्य क्षेत्रका तराई र भित्री मधेशमा पनि तातो हावा र लहर चल्न सक्ने भएकाले यसका लागि पूर्व सचेतना अपनाउन विभागले आग्रह गरेको छ।

पछिल्ला दिनमा तराई क्षेत्रको अधिकतम र न्यूनतम तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगिसकेको विभागले जनाएको छ।

तातो लहर र हावाबाट कमजोरी हुने, थकाइ लाग्ने, बेहोश हुने, बान्ता हुने जस्ता लक्षण देखिन सक्छन्। तातो हावा र लहरबाट बच्न गर्मीमा चिसो स्थानमा बस्ने, पानी र झोल पदार्थ पर्याप्त पिउने, हल्का कपडा लगाउने, घाममा नजाने लगायत उपाय अपनाउनु पर्छ ।