मुख्यमन्त्री सोडारीले भोली विश्वासको मत लिने, एमाले पनि तयार
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन एमाले तयार भएको छ । मुख्यमन्त्री सोडारी भोलि नै विश्वासको मत लिने तयारीमा छन् ।
यस अघि २१ गते र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमालेले विश्वासको मत दिन तयार नभएपछि दुई पटक सम्म विश्वासको मत लिने समय प्रदेश सभा बैठकले स्थगित गरिएको थियो । एमाले तयार भएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने ‘हामी भोली विश्वासको मत दिन्छौँ । आज त्यस विषयमा संसदीय दलका बैठक बस्छ । भोली विश्वासको मत लिने निर्णय हुन्छ ।’
वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् ।













