सुदूरपश्चिममा आज हुरीबतास चल्ने सम्भावना

कैलाली । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशमा हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन सचेत गराएको छ।

हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ।

आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा आकलन गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको अनुमान छ।

आगामी २४ घण्टामा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हुरीबतासको सम्भावना रहेको विभागले जनाएको छ। यसले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाइ यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।