मुख्यमन्त्री सोडारी आज पनि विश्वासको मत लिने तयारीमा
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारीमा छन् । हिजो विश्वासको मत पाउने सम्भावना कम भएपछि आजको लागि प्रदेश सभा बैठक स्थिगित गरिएका थिए । उनले आज साँझा ५ः३० बजे बैठक आह्वान गरेका छन् ।
नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित भएको हो । आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह पछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो।
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलका अनुसार शुक्रवारको बैठक मुख्यमन्त्रीले हामीसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै बैठक सारेका छन् । ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्यो । हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ’ उाले भने ।
बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । बझाङमा हाम्रो एक जना सांसदको बुवाको निधन भएको १५ दिन पनि बितेको छैन । ‘उहाँलाई धनगढी आउन दिनुपर्दैन ’ ,रावल भन्छन्, ‘कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन ।’
आफूहरू जिल्लामा नहुने भनेर मुख्यमन्त्रीलाई र सभामुखलाई जानकारी गराउँदा पनि विश्वासको मत दिनको लागि बैठक आह्वान गरेको प्रति रुष्ट भएका हुन् ।













