बझाङ उपनिर्वाचन : मतगणनाकोलागि सर्वदलीय बैठक बस्ने तयारी

बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनमा सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिकाका ३ वटा केन्द्रका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ। शनिवार खराब मौसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतवार बिहान ल्याइएको हो ।

साइपाल गाउँपालिका वडा नं ३ को काडा माबि मतदान केन्द्र, वडा नं ४ को धुली मतदान केन्द्र र वडा नं ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट चैनपुर ल्याइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख मान बहादुर धामीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र भरिका मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगिसकेपछि छ । मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

शनिवार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । उनका अनुसार जिल्लामा ६१ हजार ७६८ मतदाता छन्। जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा हिजो शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

सो निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।