आगामी बजेट परम्पराभन्दा भिन्न ढंगको हुन्छ : प्रधानमन्त्री

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन आएका प्रधानमन्त्री प्रचण्डले धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बजेट वैज्ञानिक, वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको जानकारी दिए ।

फरक प्रसंगमा उनले एमाले–माओवादीसहितको समीकरण पूरै अवधि जाने समेत प्रष्ट पारेका थिए ।

‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण’ उनले भने ।

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरतातर्फ सरकार अघि बढेको बताएका छन् ।

अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना उनले देखाए ।

‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं’, प्रधानमन्त्रीले भने ।